Logo
Logo

रास्वपा महाधिवेशन: बालेन र ५ मन्त्री चुनावी रिङबाहिर, ९ मन्त्री मैदानमा !


819
Shares

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका लागि बहालवाला ६ जना मन्त्रीले उम्मेदवारी नदिएकाे पाइएको छ।

प्रधानमन्त्री बालेन शाह स्वतः वरिष्ठ नेतामा मनोनीत हुने भएकाले उनले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिनु परेन। उनीबाहेक अन्य ५ जना मन्त्रीको नाम पनि उम्मेदवारहरूको प्रारम्भिक सूचीमा समावेश छैन। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूची अनुसार प्रधानमन्त्री बालेन निकट मानिएका गृहमन्त्री सुधन गुरूङ र भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल चुनावी मैदान बाहिर रहेका हुन्।

स्रोतका अनुसार भौतिक पूर्वाधार मन्त्री लम्साललाई सिधै पदाधिकारीमा मनोनीत गर्ने तयारी भइरहेको छ। उनलाई उपसभापति मनोनयन गर्ने आन्तरिक गृहकार्य रहेको स्रोतको दाबी छ। त्यस्तै, केन्द्रीय सदस्यमा उम्मेदवारी नदिने अन्य चार मन्त्रीहरूमा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, सूचना तथा सञ्चार मन्त्री विक्रम तिमल्सिना, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गणेश) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव छन्। उम्मेदवारी नदिएकी प्रतिभा रावलको नाम खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने उपसभापति (महिला) पदका लागि चर्चामा छ।

मैदानमा ९ मन्त्री
मन्त्रिपरिषद्का बाँकी ९ जना सदस्यले भने केन्द्रीय सदस्यका लागि चुनावी प्रतिस्पर्धा गर्दै छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय क्लस्टरअन्तर्गत गण्डकी प्रदेशबाट र परराष्ट्रमन्त्री शिशिर खनालले बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, कानुनमन्त्री सोबिता गौतम (राष्ट्रिय क्लस्टर), ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ (राष्ट्रिय), शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल (राष्ट्रिय), स्वास्थ्य मन्त्री निशा मेहता (भूगोल), कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी (राष्ट्रिय), युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव (राष्ट्रिय) र महिला तथा बालबालिका मन्त्री सीता वादी (भूगोल) को नाम उम्मेदवारको सूचीमा छ।

प्रतिक्रिया दिनुहोस्