Logo
Logo

मापसे गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना लिने तयारी


315
Shares

काठमाडौं । सरकारले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना लिने तयारी गरेको छ । पूर्वाधार विकास मन्त्रालयले तयार गरिरहेको सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको मस्यौदामा मापसे गरेर सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरेको हो ।

यसअनुसार मापसे गरेर सवारी चलाउनेलाई सवारीको प्रकारअनुसार जरिवाना रकम फरक–फरक हुनेछ। जसमा दुई पांग्रे वा तीन पांग्रे सवारीसाधनको हकमा २५ हजार रुपैयाँ, साना सवारीसाधनको हकमा ३५ हजार रुपैयाँ र मझौला तथा ठूला सवारीसाधनको हकमा ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।

प्रस्तावित ऐनमा गरिएको व्यवस्थाअनुसार मापसे गरेको आधारमा मात्रै कारबाहीमा परिनेछैन। यसका लागि मापसेको न्यूनतम सीमा तोकिने भएको छ। जसअनुसार तोकिएको मात्राभन्दा बढी मापसे गरे मात्रै कारबाहीमा परिनेछ।

मस्यौदामा भनिएको छ, ‘रगतमा मादक पदार्थ (ब्लड अल्कोहल कन्सेन्ट्रेसन)को मात्रा शून्य दशमल शून्य पाँच ग्राम प्रतिडेसिलिटर बढी भएमा वा ३० वर्षभन्दा कम उमेरका सवारी चालक वा परीक्षण कालमा रहेका सवारी चालकको हकमा शून्य दशमल शून्य दुई ग्राम प्रतिडेसिलिटर बढी भएमा मात्र मापसे गरेको मानिनेछ।’

हालको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा मापसे गरेर सवारीसाधन चलाएमा नै कारबाही गर्ने व्यवस्था छ। मौजुदा कानुनमा मदिरा सेवनको मात्रा तोकिएको छैन। यसअनुसार पहिलो पटक मापसे गर्नेलाई ५०० रुपैयाँ, दोस्रो पटक गर्नेलाई एक हजार रुपैयाँ र तेस्रो पटक वा सोभन्दा बढी पटक गर्नेलाई एक हजार ५०० रुपैयाँको जरिवाना गर्न सक्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्