Logo
Logo

महराको त्याग र नेपाली राजनीति


उमेश बन्जाडे

819
Shares


राजनीतिमा सबैभन्दा गाह्रो काम भनेको सत्ता प्राप्त गर्नु हो । त्यो भन्दा गाह्रो काम समयमै सत्ता र पदबाट अलग भएर त्याग गर्नु हो । नेपालको राजनीतिक इतिहासमा त्याग गर्नेहरू औलामा गन्न सकिन्छ । तर नेता बनेर सत्तामा जाने र आर्यघाट नपुग्दासम्म कुर्ची त्याग्न नसक्ने नेताहरू धेरै छन् । यही पृष्ठभूमिमा नेपाली कम्युनिष्ट पार्टिका वरिष्ठ नेता कृष्णबहादुर महराको सक्रिय राजनीतिक भूमिकाबाट सम्मानजनक अवकाश लिने घोषणा एउटा व्यक्तिको व्यक्तिगत रोजाइमात्र होइन, नेपाली राजनीतिमा हराउँदै गएको राजनीतिक संस्कारको स्मरण पनि हो ।

पछिल्लो समय नेपालमा राजनीतिलाई सेवाभन्दा पनि स्वामित्वका रूपमा बुझ्ने प्रवृत्ति गहिरिँदै गएको पाइन्छ । राजनीतिक दल धेरैजसो नेताहरूका लागि विचारको संस्था नभई व्यक्तिगत प्रभाव क्षेत्रजस्ता बनेका छन् । जसरी कुनै सामन्तले आफ्नो बिर्ता छोड्न चाहँदैन, त्यसरी नै यहाँका कयौँ नेताहरू पद र प्रभावको घेराबाट बाहिर फिटिक्कै निस्कन चाहँदैनन् । त्यसैको परिणामस्वरूप नेतृत्व हस्तान्तरणको प्रक्रिया अवरुद्ध हुँदै आएको छ ।

राजनीतिमा नयाँ पुस्ता उत्पादन त हुन्छन्, यद्यपि तिनीहरूलाई केवल पार्टीको झण्डा बोक्न, नारा लगाउन र सामाजिक सञ्जालमा बचाउ गर्नका लागि मात्र प्रयोग गरिन्छ । उनीहरूलाई निर्णायक ठाउँमा पु¥याउने सामान्य प्रयत्न समेत गरिँदैन । राजनीतिक दलहरूले युवाका नारा र मुद्दाहरू बडो जोडतोडका साथ उठाउँछ, परन्तु जब उनीहरूलाई जिम्मेवारी दिनुपर्ने बेला आउँछ तब अनेकन् बखेडाको खेती सुरु गर्छन् ।

उसोत कृष्णबहादुर महराको राजनीतिक यात्रा आफैँमा नेपालको समकालीन राजनीतिक इतिहासको एउटा महत्त्वपूर्ण अध्याय हो । रोल्पाको विकट भूगोलबाट सुरु भएको उनको यात्रा जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माण, संसदीय राजनीति र राज्यसत्ताका उच्च पदहरूसम्म पुगेको छ ।

कुनै समय जनमुक्ति सेनाका राजनीतिक कमान्डरका रूपमा समेत परिचित महरा माओवादी आन्दोलनका ती पात्रमध्ये पर्छन्, जसले भूमिगत र खुला राजनीतिका दुवै चरण प्रत्यक्ष भोगेका छन् । उनी नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्री, उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिसभाको सभामुखसम्म भए । अर्थात् तुलनात्मक रूपमा राज्यसत्ताको शिखरसम्म पुगेका व्यक्ति हुन् । तर यति लामो यात्रापछि उनले सक्रिय प्रतिस्पर्धी राजनीतिबाट पछि हट्ने संकेत गर्नु आफैँमा एउटा सकारात्मक राजनीतिक सन्देश हो ।

हरेक यात्राको एउटा अन्त्य हुन्छ र त्यो अन्त्य सम्मानजनक पनि हुनसक्छ भन्ने गतिलो उदाहरण हो । विडम्बना के छ भने नेपाली राजनीतिमा अवकाशलाई अझै पनि कमजोरीका रूपमा हेर्ने चलन छ । नेतृत्व छाड्नेबित्तिकै मान्छे राजनीतिक रूपमा समाप्त हुन्छ भन्ने मनोविज्ञान बलियो छ । त्यसैले धेरै नेताहरू अन्तिम क्षणसम्म पदमा टाँसिइरहन चाहन्छन् ।
कतिपय अवस्थामा त स्वास्थ्यले साथ नदिए पनि पदको मोहले छोड्दैन । बोल्न, हिँड्न र निर्णय गर्न गाह्रो भइसकेपछि पनि लौरो टेकेर अरूको सहारामा हिँडेर पनि नेतृत्वको कुर्सी छोड्न नसक्ने संस्कार नेपाली राजनीतिमा सामान्यजस्तै बनेको छ ।

यो पनि राजनीतिक दलहरूभित्र पुस्तान्तरण नहुनुको एउटा विशेष कारण हो । अर्को समस्या संरचनागत रूपमा अधिकांश दलहरूमा अध्यक्ष नै पार्टी, पार्टी नै अध्यक्ष जस्तो अवस्था देखिन्छ । प्रायः पार्टीहरूमा निर्णय प्रक्रियाहरू संस्थागत भन्दा व्यक्ति केन्द्रित बढी देखिन्छन् । यस्तो अवस्थामा नेतृत्व परिवर्तनको बहस उठ्नेबित्तिकै त्यसलाई विद्रोह, असहमति वा षड्यन्त्रको रूपमा व्याख्या गरिन्छ ।

नयाँ पुस्ताले प्रश्न उठायो भने अनुभवको अभाव देखाइन्छ । तर अवसर नै नदिने हो भने अनुभव कहाँबाट आउनेछ ? माओवादी आन्दोलनको सन्दर्भमा यो प्रश्न अझ गम्भीर छ । जनयुद्धको समयमा हजारौँ युवाहरूले परिवर्तनको सपना बोकेर संघर्ष गरेका थिए । धेरैले ज्यान गुमाए, कयौँ घाइते भए र धेरै विस्थापित भए । उनीहरूले एउटा नयाँ राजनीतिक संस्कारको अपेक्षा गरेका थिए । तर शान्ति प्रक्रियापछि बनेको शक्ति संरचनामा सीमित नेताहरूको हालीमुहाली चल्यो । आज पनि धेरै पूर्वलडाकुहरू आफूलाई आन्दोलनको इतिहासमा उपयोग गरिएका तर वर्तमानमा बिर्सिएका पात्रका रूपमा महसुस गर्छन् ।

कृष्णबहादुर महराको राजनीतिक अवकाश घोषणाले नेपाली राजनीतिका अगाडि एउटा गम्भीर नैतिकताको ऐना तेस्र्याएको छ । त्यो ऐनामा केवल महरा देखिँदैनन्, त्यहाँ प्रचण्ड, देउवा, ओली, माधव नेपाल, झलनाथ खनाल र लोकतन्त्रपछि जन्मिएको सिंगो राजनीतिक पुस्ता देखिन्छ । यस भित्र एउटा यस्तो राजनीतिक संस्कार देखिन्छ, जहाँ नेता परिवर्तनको कुरा गर्छन् तर आफैँ परिवर्तन हुन चाहँदैनन् ।

जनतालाई नयाँ पुस्ता खोज्न सिकाउँछन् तर आफ्नै पार्टीमा नयाँ पुस्तालाई स्थान दिइँदैन । वास्तवमा, नेपालको राजनीतिक समस्या विचारको भन्दा पनि नेतृत्वको व्यवस्थापनसँग बढी सम्बन्धित हुँदै गएको छ । राजनीतिक दलहरूमा नीति, कार्यक्रम, घोषणापत्र र भाषणको कुनै कमी छैन । बरु यिनीहरू भित्र नेतृत्व हस्तान्तरणबारे इच्छाशक्तिको अथाह अभाव देखिन्छ ।

त्यसैले नैतिकताको खडेरीका बिच महराको यो निर्णयलाई केवल एउटा व्यक्तिको अवकाशका रूपमा बुझ्नु अपूरो हुन्छ । यो जनयुद्धपछिको माओवादी राजनीतिमाथि उठेको प्रश्न पनि हो । आखिर एउटा आन्दोलनको सफलता के हो ? एउटै पुस्ताले अनन्तकालसम्म नेतृत्व गरिरहनु हो कि नयाँ पुस्तालाई सक्षम बनाउँदै जानु पनि हो ?

राजनीतिमा एउटा रोचक मनोविज्ञान हुन्छ । जब नेता सत्तामा पुग्छ, उसले आफूलाई अपरिहार्य ठान्न थाल्छ । पार्टी आफू बिना चल्दैन, आन्दोलन आफू बिना टिक्दैन, देश आफू बिना अघि बढ्दैन भन्ने भ्रम विस्तारै मनमा बस्न थाल्छ । इतिहासका धेरै राजनीतिक दुर्घटनाहरू यही भ्रमबाट जन्मिएका छन् । कुनै पनि व्यक्ति अपरिहार्य हुँदैन भन्ने कुरा इतिहासले बारम्बार सिकाएको छ । तर दुर्भाग्य नेपालको राजनीतिक परिदृश्यमा पनि यही रोग फैलिएको देखिन्छ ।

कुनै नेता बिरामी परे पार्टी रोकिने जस्तो, कुनै नेता विदेश जाँदा सरकार चल्न नसक्ने जस्तो, कुनै नेता निवृत्त भए देश नै संकटमा पर्ने जस्तो वातावरण सिर्जना गरिन्छ । लोकतन्त्रमा सम्मानजनक अवकाशलाई राजनीतिक परिपक्वताको सूचक मानिन्छ । अवकाश भनेको हार होइन, अनुभवलाई अर्को भूमिकामा रूपान्तरण गर्नु हो ।

कृष्णबहादुर महरा कुनै देवदूत होइनन् । उनको राजनीतिक जीवन आलोचनामुक्त पनि छैन । तर राजनीतिमा व्यक्तिको मूल्याङ्कन केवल विवादबाट मात्र हुँदैन । जीवनका अनेकन् चरणमा उसले दिएको त्याग र बलिदानको पनि महत्त्वपूर्ण स्थान हुन्छ । महराले यदि साँच्चिकै सक्रिय प्रतिस्पर्धी राजनीतिक भूमिकाबाट अलग हुने निर्णयलाई व्यवहारमा उतार्न सके भने त्यो नेपाली राजनीतिका लागि एउटा सकारात्मक सन्देश बन्न सक्छ । किनकि, नेपालमा पद सम्हाल्ने उदाहरण धेरै छन्, तर पद त्याग्ने इतिहास कमै मात्रामा भेटिन्छन् ।

नेतृत्व हस्तान्तरणको बहस केवल संगठनात्मक प्रश्न होइन, आन्दोलनको नैतिकतासँग जोडिएको विषय पनि हो । महराको निर्णयलाई यही सन्दर्भमा हेर्नुपर्छ । उनले सबै विवादरहित जीवन बिताएका छैनन् । सभामुख पदबाट उनको बहिर्गमन विवादपूर्ण परिस्थितिमा भएको थियो ।

हुन त एमसिसी टेबल नगरेकै दिनदेखि उनको ओरालो यात्रा सुरु भएको विश्लेषण पनि गरिन्छ । यद्यपि, उनको राजनीतिक जीवनमा आरोह–अवरोह धेरै आए । तर राजनीतिक जीवनको अन्तिम चरणमा आएर प्रतिस्पर्धी भूमिकाबाट अलग हुने उनको निर्णयले एउटा फरक सन्देश दिएको छ । राजनीतिमा केवल पद प्राप्त गर्नुमात्र उपलब्धि होइन, बरु पद त्याग गर्नु त्योभन्दा ठूलो महान् उपलब्धि हो भन्ने मान्यता महराको यो कदमले स्थापित गरेको छ ।

लमही दाङ, हालः साउदी अरेबिया

प्रतिक्रिया दिनुहोस्