काठमाडौं। रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान)द्वारा देशभरका सात जना पत्रकारलाई रोटरी जर्नी अवार्ड २०२६ प्रदान गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच उनीहरूलाई जनही नगद ५१ हजार रुपैयाँसहित उक्त अवार्ड प्रदान गरिएको हो। सोही समारोहमा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठलाई १ लाख १ हजार रुपैयाँ राशिको यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो।

यस वर्षको रोटरी जर्नी अवार्ड प्राप्त गर्नेहरूमा गोरखाका सुदीप कैनी, सिन्धुलीका सागर बुढाथोकी, पाल्पा घर भई पोखरामा कार्यरत विजय नेपाल, सुनसरीका विकल रेग्मी, ओखलढुंगाका सरोज ढुंगेल, काठमाडौंकी उर्वसी बस्न्यात र बाँकेकी रूपा गहतराज रहेका छन् । विधागत रूपमा कैनीले आधारभूत शिक्षा, साक्षरता र डिजिटल साक्षरता, बुढाथोकीले मातृ तथा शिशु स्वास्थ्य, नेपालले सामुदायिक र आर्थिक विकास, रेग्मीले खानेपानी, सरसफाइ र स्वच्छता, ढुंगेलले रोग रोकथाम र उपचार, बस्न्यातले वातावरण, जलवायु परिवर्तन र उत्थानशीलता तथा गहतराजले स्थानीय शान्ति र द्वन्द्व रोकथाम तथा समाधान विधामा अवार्ड जितेका हुन् ।
समारोहका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डाइरेक्टर नोमिनी बासुदेव गोल्यान र रोटरीका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले पत्रकारहरूलाई पुरस्कृत गरेका थिए । पुरस्कार वितरण गर्दै प्रमुख अतिथि गोल्यानले पुरस्कृत सम्पूर्ण पत्रकारलाई बधाई दिए र यस अवार्डबाट अब्बल तथा मेहनती पत्रकारलाई अझ अगाडि बढ्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । रोटरी एक अन्तर्राष्ट्रिय संस्था भएको उल्लेख गर्दै समाजमा यसले गरेका कामहरूका कारण चौतर्फी सकारात्मक सन्देश प्रवाह भइरहेको उनको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष एवं डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले रोटरीले सामाजिक सेवाका साथै पत्रकारहरूलाई पनि बर्सेनि पुरस्कृत गर्दै आएको बताउनुभयो। संसारभर रोटरीका १२ लाख सदस्य रहेको र संस्थाले पेसागत मर्यादालाई उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले रोटरीले स्वार्थभन्दा माथि उठेर आफ्नो श्रम, पैसा, समय र क्षमता समाजका लागि दान गर्ने काम गर्ने भएकाले यसलाई सकारात्मक ढंगले बुझिदिन आग्रह गरे ।
रोटरी जर्नी अवार्ड कमिटीका अध्यक्ष सुरेश आचार्यले रोटरीले सेवा गर्ने क्षेत्रलाई आधार मानेर विभिन्न विधामा देशभरिबाट अनलाइन आवेदन माग गरेको र छनोट समितिले उत्कृष्ट पत्रकारहरूको छनोट गरेको जानकारी दिए । त्यस्तै, जुरी प्यानल कोअर्डिनेटर एवं वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पत्रकारहरूको क्षमता र योगदानका आधारमा निकै स्वच्छ तथा पारदर्शी ढंगले उत्कृष्टको छनोट गरिएको स्पष्ट पारे ।
पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन र सिर्जना गर्ने पत्रकारहरूलाई रोटरीले सन् २०११ देखि रोटरी जर्नी अवार्ड प्रदान गर्दै आएको छ। विगतमा यो लाइफटाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ पत्रकारद्वय भैरव रिसाल र भारतदत्त कोइराला सम्मानित भइसकेका छन् । रोटरी जर्नी अवार्ड कमिटीका अध्यक्ष सुरेश आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा हिमाल पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने पुरस्कृत पत्रकारहरूको तर्फबाट आदित्यमान श्रेष्ठ, उर्वशी बस्न्यात र सरोज ढुंगेलले आआफ्नो मन्तव्य राखेका थिए ।














