काठमाडौं । सुरक्षित पुनस्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थीत बसोबासीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सुरक्षित पुन:स्थापना, भू स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरूले शनिवार काठमाडौंको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरूले सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानूनबमोजिम दिगो, उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुन:स्थापनानै गर्ने भए घर भत्काइएको स्थान वा कानुन बमोजिम उपयुक्त स्थानमा भू स्वामित्वसहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन् ।
होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीले आफुहरुलाई होल्डिङ सेन्टरबाट हट्न पटक पटक दबाब दिदा मानसिक तनाव थपिएको बताएका छन् ।
उनीहरुलाई बिभिन्न निकाय र प्रहरीहरूले २५ हजार बुझेर होल्डिङ सेन्टर छाड्नका दबाब दिइरहेको हो । उनीहरूले सरकाले आफूहरूलाई सडकमा अलपत्र पार्न खोजिएको भन्दै तत्काल उचित व्यवस्थापन गर्न माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले डोजर होइन, समाधान दे, जनता मार्न पाइँदै, यस्तो सरकार चाहिँदैन, गरिबमाथिको ज्यादती बन्द गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न भनेपछि उनीहरू आन्दोलित भएका हुन् ।














