काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन् ।

सोमबार नेकपाको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले सरकारका कामकारबाही सही नभएको बताए । सरकारले ठिक ढङ्गले अघि नबढेको प्रचण्डको विश्लेषण रहेको छ।
‘राष्ट्रियताका विषयमा, आधारभूत वर्गका विषयमा सरकारले गरेका कामहरू गलत छन्,’ प्रचण्डले भने, ‘त्यसैले वामपन्थी शक्ति र अरू लोकतान्त्रिक शक्तिसँग सहकार्यको वातावरण बनाएर जानुपर्छ ।’
उनले अहिलेसम्मका क्रियाकलापले सरकार धेरै समय नटिक्ने पनि दाबी गरे । ‘सरकार ठिक ढङ्गले गइरहेको छैन,’ प्रचण्डले भने, ‘यो सरकार त्यति लामो जाँदैन।’
केन्द्रीय कमिटीको भर्चुअल बैठकमा संयोजक प्रचण्डले ४५ मिनेट बोलेका थिए । उनले समसामयिक राजनीतिक विषयसँगै नेकपाको महाधिवेशनको तयारीबारे चर्चा गरेका थिए ।














