काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख तीन अङ्गबीच कार्यगत एकता र गतिशीलता आवश्यक रहेको बताएका छन् । ६८ औं संसद् दिवसको अवसरमा मङ्गलवार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख अर्यालले जनजीविका, राष्ट्रियता र समृद्ध राष्ट्र निर्माणको दिशामा सरकारलाई निरन्तर खबरदारी गर्न नागरिक समाज र सरोकारवालाहरूलाई आग्रह गरे। नेपाल बस्न लायक मुलुक बन्यो, अब स्वदेश फर्किनुपर्छ भन्ने वातावरण सिर्जना गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको बताए ।
उनले वैदेशिक रोजगारी र अन्य सिलसिलामा विश्वभर छरिएर रहेका नेपालीहरूलाई स्वदेश फर्किने आधार तयार गर्न नागरिकले झक्झक्याइरहनुपर्ने उल्लेख गरे । उनले विकास र सुशासनको मार्गमा अनावश्यक प्रक्रियागत जटिलतामा अल्झिनु नहुने र भ्रष्टाचारमुक्त समाज निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री ज्ञानलाई एकीकृत गरेर मात्र मुलुकलाई द्रुतमार्गबाट विकासको दिशामा अगाडि बढाउन सकिने उनको तर्क छ ।
उनले भने, ‘आगामी दिनमा जनजीविकाको हकमा, राष्ट्रियताको हकमा, राष्ट्र निर्माणको विषयमा, समृद्ध राष्ट्र निर्माण गर्ने विषयमा, सुशासन कायम गर्ने विषयमा तथा भ्रष्टाचारको अन्त्य गर्ने विषयमा यहाँहरूले हामीलाई निरन्तर झकझक्याइरहनुपर्छ । कम्तीमा पनि अब नेपाल साँच्चिकै नेपाल बन्यो, नेपाल बस्नलायक बन्यो, हामी फर्किनुपर्छ भन्ने अनुभूति संसारभर विभिन्न देशमा बसिरहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा जगाउने वातावरण निर्माण गर्न हामी सबै लाग्नुपर्छ । यहाँहरूले हामीले बोलाएका यस्ता कार्यक्रममा मात्र होइन, अन्य समयमा पनि आफ्ना सुझाव, सल्लाह र खबरदारी दिइरहनुपर्छ । त्यसका लागि यहाँहरूलाई अधिकार पनि छ, कर्तव्य पनि छ र जिम्मेवारी पनि छ । हामीलाई खोज्नु, प्रश्न गर्नु र खबरदारी गर्नु पनि यहाँहरूको दायित्व हो ।’
उनले आफू निरन्तर सम्पर्कमा रहने प्रयास रहेको बताउँदै भने, ‘मलाई लाग्छ, मर्यादाका विषयमा यति धेरै बहस हुन्छ कि कहिलेकाहीँ विकासका मुद्दा, सुशासनका प्रश्न र भ्रष्टाचार नियन्त्रणका विषय ओझेलमा पर्ने गरेका छन् । त्यसैले हामीले अग्रजहरूलाई सधैँ सम्मान गर्दै आएको छौँ । मैले सार्वजनिक रूपमा पनि भन्ने गरेको छु–अघिल्लो पुस्ताले हामीलाई यो देशमा लोकतान्त्रिक अभ्यास गर्ने र उच्चस्तरको राजनीति गर्ने अवसर प्रदान गर्नुभएको हो ।’
सभामुख अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ‘स्पिड र स्पिरिट’ (गति र भावना) मिलेमा मात्र जनताको चाहनाअनुसारको परिणाममुखी काम गर्न सकिने उल्लेख गरे । उनले संविधानको अक्षरशः पालना गर्दै कानूनी राज्यको अवधारणामा कुनै आँच नआउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । मुलुकमा प्रिमियम क्लासको राजनीति गर्ने अवसर अघिल्लो पुस्ताले प्रदान गरेको स्मरण गर्दै उनले वर्तमान र भावी पुस्ताको क्षमतालाई कदर गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए ।














