
राजनीतिमा पार्टी, सिद्धान्त र विचार मिले पनि नेताहरूबिचको बोली, व्यवहार र मन मिलेन भने सहयात्रा बीचमै टुङ्गिन्छ । त्यसमाथि पदीय स्वार्थका लागि गरिएको सहयात्रा त जुनसुकै बेला टुंगिन सक्छ ।
गणेशमान सिंह नेपाली राजनीतिका त्यागी नेता हुन् । २०४६ सालको जनआन्दोलनका कमान्डर सिंहले मुखैमा आएको प्रधानमन्त्री पद त्यागे । कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन राजा वीरेन्द्रलाई सिफारिस गरे । त्यो त्याग, बलिदान, विश्वास र सहकार्यको एउटा उदाहरण थियो । तिनै गणेशमानले अन्ततः नेपाली कांग्रेस नै त्याग्नुपर्ने दुःखद अवस्था आइप¥यो, कारण सिद्धान्त, विचार र पार्टी मात्र थिएन, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि सिंहप्रतिको उनको व्यवहार थियो ।
त्यस्तै, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एमाले र माओवादीबीच एकतामात्र भएन, दुई पार्टी मिल्दा २०७४ सालमा करिब दुई तिहाइ बहुमत नै आयो । यो पदीय स्वार्थको सम्बन्ध थियो । त्यसैले ओली र प्रचण्डबीचको सहयात्रा अत्यन्तै दुःखद ढंगले अन्त्य भयो । पार्टी एकतापछि आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने लिखित सहमति भए पनि त्यो सहमति कार्यान्वयन नहुँदा नेकपा नै भंग भयो ।
यी दुईवटा घटना नेपाली राजनीतिका उदाहरण मात्र हुन् । हरेक राजनीतिक पार्टीभित्र यस्ता कथा व्यथा लुकेको हुन्छ, जुन बाहिर देखिँदैन, तर त्यसले ल्याउने परिणाम भयानक डरलाग्दो हुन्छ । त्यसैले हामीले पार्टीहरूको मूल्यांकन गर्दा बाहिरबाट जे देख्छौँ, त्यो मात्र सत्य हुँदैन । त्यो भित्र अनेक कथा–व्यथा पनि लुकेको हुन्छ र अन्ततः राजनीतिमा त्यो वास्तविकता बडो कठोर र निर्मम ढंगबाट प्रकट हुन्छ ।
रास्वपाकै कुरा गर्ने हो भने पनि, त्यो पार्टी कुनै क्रान्ति वा आन्दोलनले स्थापित गरेको पार्टी होइन । पुराना भनिएका पार्टीहरूले जनइच्छाबमोजिम शासनसत्ता चलाउन नसक्दाको परिणाम हो । हिलोमै कमलको फूल फुल्छ भनेझैँ विगतका पार्टीहरूले थुपारेको विकृति, विसंगतिको हिलोमा रास्वपाको जन्म भएको हो । नेपालको माटोमा यो पार्टी परीक्षण हुन बाँकी नै छ । पुराना भनिएका पार्टीहरूलाई ‘सकिन’ ३५ वर्ष लाग्यो, यस्तै चाला हो भने रास्वपा ‘सक्किन’ पाँच वर्ष पनि कुर्न पर्दैन ।
बालेन नेतृत्वको सरकारको सय दिन बित्दै गर्दा सचेत नागरिकहरूले आलोचना गर्न सुरु गरिसके । बालेन प्रधानमन्त्री भएयता उनको बोली र व्यवहारले उनी त्यो कुर्चीका लागि उपयुक्त पात्र होइन भन्ने कुरा सरकारको पछिल्लो व्यवहारले संकेत गरिसक्यो ।
सुरुमा बालेनप्रति जुन आशा र भरोसा पलाएको थियो, त्यो क्रमशः ‘स्टन्ट’को राजनीतिमा परिणत हुँदै छ । राजनीतिमा ‘स्टन्ट’ धेरै दिन टिक्दैन भन्ने कुरा सबैले बुझ्नुपर्छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनले सम्प्रेषण गर्ने शब्दहरू र सरकारको ‘पहिला थुन अनि सुन’ भन्ने शैलीबाट यो सरकार धेरै दिन टिक्दैन भन्ने निष्कर्ष धेरैले निकाल्न थालेका छन् ।
वास्तवमा, रविजस्तै बालेन साहको उदय पनि नेपाली राजनीतिमा संघर्ष र बलिदानीको कथाले होइन, सामाजिक सञ्जालको ‘भाइरल’ बाटै भएको हो । अहिले नेपालको राजनीति यी दुई भाइको काँधमा छ । दुई भाइको स्वभाव पनि भिन्न छ । एउटा बढी बोल्ने, अर्को बोल्दै नबोल्ने ।
यी दुई भाइको बीचमा कुनै पनि बेला तिक्तता उत्पन्न हुने कारण पनि यही स्वभाव र व्यवहार हुनसक्छ । त्यसमाथि बालेन प्रधानमन्त्री बन्नकै लागि रास्वपा छिरेका हुन्, रास्वपा निर्माणकर्ता होइनन् । रविको मुद्दा अदालतमा विचाराधीन भएकोले उनलाई वरिष्ठ उपाध्यक्ष बनाएर प्रधानमन्त्रीको कुर्चीसम्म पु¥याउनु रविको बाध्यता हो । अदालतबाट जुन दिन रविले न्याय पाउँछन्, त्यो दिनदेखि बालेनको दिनगन्ती सुरु हुन्छ भन्ने संकेत रविले महाधिवेशन उद्घाटनमा गरिसके ।
आफूले निर्माण गरेको जगमा अरूलाई बसाउनुको पीडा रविलाई जति अरूलाई थाहा छैन । यदि, त्यस्तो अवस्था निर्माण भएमा बालेनले के गर्लान् भन्ने कुरा अहिले नै कसैले अनुमान गर्न सक्दैनन् । किनभने, बालेन बोल्दैनन् । उनको मनको कुरा कसैले बुझ्दैनन् । नेपाली राजनीतिको पुराना कथाव्यथालाई केलाउने हो भने यी दुई भाइको राजनीतिक यात्रा ‘हामी नदीका दुई किनारा, हाम्रो मिलन असम्भव छ’ भनेजस्तो गरी दुःखान्त गीतमा त टुंगिने होइन ? हेर्दै जाऔँ ।














