काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैङ्क (एडीबी)का अध्यक्ष मसातो कान्डाबिच एक्लाएक्लै भेटवार्ता हुने भएको छ । उनीहरूबिच आगामी मङ्गलवार बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायर्कालयमा भेटको कार्यक्रम तय भएको छ ।

कान्डा नेपाल भ्रमणको लागि भोली सोमबार दिउँसो नेपाल आउँदै छन् । यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि विदेशी प्रतिनिधिसँग एक्लाएक्लै (वान–टु-वान) भेटवार्ता गरेका छैनन् ।
शाह प्रधानमन्त्री भएपछि नेपालमा पहिलो उच्चस्तरीय भ्रमण अमेरिकी सहायक विदेशमन्त्री एस। पाउल कपुरले गरेका थिए । त्यसपछि, दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर वैशाख १७ मा नेपाल आएका थिए । उनीहरु कसैले पनि प्रधानमन्त्री शाहसँग भेट्न पाएनन् । त्यस्तै, भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण आउने तयारी भए पनि बालेनले नभेट्ने भनेपछि आएका थिएनन् ।
अहिले भने प्रधानमन्त्री शाह एबीडीका अध्यक्षसँग भेट्न तयार भएका हुन् । सोमबार दिउँसो नेपाल आए लगत्तै अध्यक्ष कान्डले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।
मङ्गलवार बिहान प्रधानमन्त्री शाहसँग कान्डको वान–टु-वान बैठकको कार्यसूची तय भएको छ । त्यसपछि कान्ड नेपालबाट फर्कनेछन् । प्रधानमन्त्री शाहले यसअघि राजनीतिक उद्देश्यले नेपाल आएका विदेशी प्रतिनिधिलाई भेट्न इन्कार गर्दै आएका थिए ।
प्रधानमन्त्रीले विदेशी नेता तथा अधिकारीसँगको भेटघाटमा परराष्ट्र मन्त्रालयलाई नै अगाडि सार्दै आएका छन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले विदेशसम्बन्धमा परराष्ट्र मन्त्रालयले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने निर्देशन प्रधानमन्त्रीको रहेको बताउने गरेका छन् । यस पटक आर्थिक विषयसँग जोडिएको संस्थाको नेतृत्व नेपाल आउँदा भने प्रधानमन्त्रीले भेटको लागि समय छुट्टाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहको नेतृत्वमा सरकार बनाएपछि नेपालको विकासमा सहायता प्रदान गर्दै आएको बहुपक्षीय दातृ निकायमध्ये पहिलोपटक एडीबीका अध्यक्ष नेपाल भ्रमणमा आउन लागेका हुन् ।














