काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले इतर पक्षको सम्पर्क कार्यालयमा विस्तारित बैठक बोलाएका छन् । नेता खड्काले काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सोमबार दिउँसो २ बजे विस्तारित बैठक बोलाएका हुन् ।

सोमबारको बैठकमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौंमा उपलब्ध जिल्ला सभापतिलाई बोलाइएको छ। विस्तारित बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने जनाइएको छ ।
यसअघि गत शुक्रवार खड्का निवासमा इतर पक्षका नेताहरूको बैठक बसेको थियो । बैठकमा नेताहरू डा शशाङ्क कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, रमेश लेखक, डा। प्रकाशशरण महत, एनपी साउद, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र श्याम घिमिरेलगायत सहभागी थिए । बैठकले असार भित्रै राष्ट्रिय भेला बोलाउने सहमति गरेको थियो ।
बैठकमा कांग्रेस सभापति गगन थापालगायत नेताहरूसँग पार्टी एकताका लागि भएका छलफलबारे ‘ब्रिफिङ’ गरिएको थियो । अब अगाडि कसरी बढ्ने भन्ने विषय राष्ट्रिय भेलाबाट टुङ्गाउने सहमति बनेको छ । त्यसका आधारमा राष्ट्रिय भेलाको मिति तोक्न खड्काले विस्तारित बैठक बोलाएको नेताहरूले बताएका छन् ।














