
काठमाडां । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा जारी छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४औँ महाधिवेशनबाट निर्वाचित आफ्नो समूहका पदाधिकारी र सदस्य तथा पूर्वपदाधिकारी र सदस्यहरूको बैठक अहिले बसिरहेको हो ।
बैठकमा पार्टीभित्रको आन्तरिक विवादमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको नेता डा.प्रकाशशरण महतले जानकारी दिए । देउवा समूहको सम्पर्क कार्यालय आज (सोमबार)बाट नै औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।
विस्तारित बैठकपछि यो समूहले काठमाडौँमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ । पछिल्लो समय कांग्रेसमा देखिएको आन्तरिक विवादका विषयमा दुवै पक्षबिच छलफल भए पनि टुङ्गोमा पुगेको छैन ।
इतर समूहले अघि सारेका माग सम्बोधन गर्ने विषयमा विधान बाधक रहेको संस्थापनले बताउँदै आएको छ । इतर समूहले भने आफूहरूले राखेका मागका बारेमा सभापति गगन थापा गम्भीर नभएको आरोप लगाउँदै आएको छ ।














