
काठमाडौं । ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) ले सोमबार पत्रकार सम्मेलनमार्फत एक्स्पोको तयारी, उद्देश्य, मुख्य आकर्षण तथा अटोमोबाइल क्षेत्रका समसामयिक विषयबारे विस्तृत जानकारी दिएको हो ।
नाइमाका अनुसार ६ दिनसम्म सञ्चालन हुने यस वर्षको एक्स्पोमा ५३ भन्दा बढी अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डहरूको सहभागिता रहनेछ । प्रदर्शनीमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, व्यावसायिक सवारी, विद्युतीय (ईभी) तथा हाइब्रिड गरी ४० भन्दा बढी नयाँ सवारीसाधन नेपाली बजारमा पहिलो पटक सार्वजनिक गरिने नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिइन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष वैद्यले एक वर्षअघि २१ सदस्य कम्पनीबाट स्थापना भएको नाइमामा हाल ३६ वटा सदस्य कम्पनीहरू आबद्ध भइसकेको बताइन्। उनका अनुसार सदस्य कम्पनीहरूको तीव्र विस्तारले नेपालको अटोमोबाइल क्षेत्रमा निजी क्षेत्रको विश्वास र लगानी बढ्दै गएको संकेत गरेको छ ।
यसपटकको एक्स्पो व्यवसायिक प्रदर्शनीमा मात्र सीमित नरहने नाइमाले जनाएको छ। एक्स्पोबाट संकलित टिकट बिक्रीको कुल आम्दानीमध्ये १० प्रतिशत रकम अनुसन्धान फेलोसिपका लागि छुट्याइने घोषणा गरिएको छ । सो रकमबाट मोबिलिटी क्षेत्रसँग सम्बन्धित अनुसन्धानलाई प्रोत्साहन गरिनेछ र तयार भएका अनुसन्धान प्रतिवेदनहरू ‘नाइमा मोबिलिटी जर्नल’मा प्रकाशित गरिनेछन्। यसबाट नेपालको यातायात प्रणालीको विकास, तथ्याङ्क व्यवस्थापन तथा नीतिगत सुधारमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।
अध्यक्ष वैद्यले नेपालको अटोमोबाइल क्षेत्रले भोगिरहेका नीतिगत तथा पूर्वाधारसम्बन्धी समस्याहरूमाथि पनि ध्यानाकर्षण गराइन् । अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी आयोजना गर्न आवश्यक पूर्वाधार अभावका कारण हरेक वर्ष कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै उनले सरकारले अन्तर्राष्ट्रिय स्तरको एक्स्पो सेन्टर निर्माणमा प्राथमिकता दिनुपर्ने माग गरिन् ।
उनले सवारीसाधनमा लाग्ने उच्च करका कारण बजार विस्तारमा समस्या भइरहेको उल्लेख गर्दै कर संरचनालाई यथार्थपरक बनाउन सरकारसँग आग्रह गरिन् । साथै अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउन ८०/२० को लोन रेसियोसहित खुकुलो मौद्रिक नीति लागू गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायहरूसँग निरन्तर छलफल र लबिङ भइरहेको जानकारी दिइन्।














