Logo
Logo

‘फुटबलका राक्षस’ हालान्डको उदय, ब्राजिलियन साम्राज्यको पतन


126
Shares

काठमाडौं । पाँच पटकको विश्व च्याम्पियन ब्राजिल फेरि एकपटक विश्वकपबाट निराश हुँदै घर फर्किएको छ । तर यो हार केवल ब्राजिलको हार मात्र होइन, विश्व फुटबलको शक्ति सन्तुलन फेरिँदै गएको संकेत पनि हो । एक समय थियो– ब्राजिल मैदानमा उत्रिनु नै आधा जित मानिन्थ्यो । तर आज अवस्था बद्लिएको छ । टोलीमा प्रतिभा छ, स्टार खेलाडी छन्, ठूलो नाम छ, तर त्यो पुरानो र जादुमयी ब्राजिलियन फुटबल हराइसकेको छ । विपक्षीहरू अब ब्राजिलसँग डराउँदैनन्, बरु उसको कमजोरीमा अवसर खोज्छन् । र, नर्वेले त्यही अवसरको भरपूर फाइदा उठायो । २-१ को पराजयसँगै ब्राजिल राउन्ड अफ १६ बाटै बाहिरिन बाध्य भयो । 

सबैभन्दा बढी विश्वकप जित्ने ब्राजिलले फेरि एकपटक विश्वकपमा आफ्नै इतिहासको भारी बोक्न सकेन । यता, २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वे भने पहिलोपटक क्वाटरफाइनलमा पुगेर नयाँ इतिहास रच्यो । एकातिर विश्व फुटबलको सबैभन्दा ठूलो नाम बाहिरियो, अर्कोतिर नयाँ पुस्ताका नायक अर्लिङ हालान्डले आफूलाई ‘गेम चेन्जर’ रुपमा प्रमाणित गरिदिए ।

खेलको सुरुवातमै ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो । यदि त्यो गोल भएको भए खेलको कथा अर्कै हुन सक्थ्यो । तर, १४औँ मिनेटमा ब्रुनो गुइमारेसले पेनाल्टी मिस गरेर ब्राजिललाई अग्रता दिलाउने मौका मात्रै गुमाएनन्, नर्वेको आत्मबल पनि बढाइदिए । त्यसपछि खेल जति-जति अन्त्यतिर धकेलियो, नर्वेको आत्मविश्वास त्यति नै बढ्दै गयो । अनि, अन्तिम ११ मिनेटमा मैदानमा छायो एउटै नाम-हालान्ड । 

खेलभरि खासै नदेखिएका उनले दुई टचमा खेलको भाग्य नै बदलिदिए । उनले खेलको ७९औँ मिनेटमा पहिलो र ९०औँ मिनेटमा दोस्रो गोल गर्दै ब्राजिललाई स्तब्ध पारिदिए । इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरेपनि नेयमारले टोलीको हार टार्न सकेनन् । यो हार यति पीडादायी बन्यो कि नेयमारले खेललगत्तै अन्तर्राष्ट्रिय फुटबलबाटै सन्यासको घोषणा गरे । एउटा जादुमयी युगको यस्तो दुःखद अन्त्य सायदै कसैले सोचेको थियो ।

पाँचौँ भेटमा पनि ब्राजिल नर्वेविरुद्ध जितविहीन नै रहन पुग्यो । ३६ वर्षपछि विश्वकपको क्वाटरफाइनलसमेत पुग्न नसकेर अन्तिम १६ मै रोकिनु ब्राजिलका लागि कति पीडादायी थियो, त्यो त खेल सकिएपछि मैदानमा बगेका खेलाडीका आँसुले नै भनिरहेका थिए । सन् १९९० मा अर्जेन्टिनासँग पराजित भएयता ब्राजिलले विश्वकपको मञ्चमा यति खराब नियति भोग्नुपरेको थिएन ।

यो हार एउटा खेलको नतिजा मात्र होइन, पछिल्ला दुई दशकदेखि दोहोरिँदै आएको पीडादायी कथाको अर्को अध्याय हो । सन् २००२ पछि ब्राजिल विश्वकपको फाइनलसम्म पुग्न सकेको छैन । २०१४ मा घरेलु मैदानमै बेहोरेको ७-१ को अपमानजनक हार, त्यसपछिका लगातारका निराशा र अहिले ३६ वर्षपछि क्वाटरफाइनल नै पुग्न नसक्नु, यी सबै संयोग मात्र पक्कै होइनन् । यो विश्व फुटबलमा ब्राजिलको साम्राज्य र प्रभाव क्रमशः कमजोर हुँदै गएको स्पष्ट प्रमाण हो । विश्व फुटबलको इतिहासमा ब्राजिलले ८८ फरक देशहरूसँग खेलेको छ, तर एउटा यस्तो राष्ट्र छ जसलाई उसले अहिलेसम्म हराउन सकेको छैन-त्यो हो नर्वे । नर्वेसँगको त्यही ऐतिहासिक ‘अभिषाप’ यसपटक ब्राजिलका लागि महाविपत्ति बनेर आयो । 

बिदाइका हातहरू हल्लाउँदै मैदानबाट बाहिरिँदा नेयमारको अनुहारमा देखिएको त्यो निराशा र रित्तोपनले समग्र ब्राजिलियन फुटबलको वर्तमान अवस्थालाई नै चित्रण गरिरहेको थियो । अब ब्राजिलियन फुटबलका अगाडि एउटै मात्र प्रश्न बाँकी छ– के ब्राजिलको त्यो पुरानो विरासत फेरि फर्किएला रु या त्यो पहेँलो जर्सीको चमक इतिहासको पानामा मात्रै सीमित होला रु 

नेयमारको सपना अधुरै

खेल सकिनेबित्तिकै नेयमार मेटलाइफ स्टेडियमको मैदानमै भक्कानिएर रोए । टिममेटले उनलाई उठाएर सान्त्वना दिने प्रयास त गरे, तर उनको आँसु थामिएकै थिएन । जुन मैदानबाट १६ वर्षअघि उनको अन्तर्राष्ट्रिय फुटबलको जादुमयी यात्रा सुरु भएको थियो, आज त्यही मैदान उनको आँसु र बिदाइको साक्षी बन्न पुग्यो । खेलपछि ब्राजिलियन टेलिभिजन ‘जीई टिभी’सँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ । अब सकियो । मैले यहीँबाट सुरु गरेको थिएँ, यहीँ आएर अन्त्य भयो ।’

सन् २०१० मा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गर्दा यो त्यही मेटलाइफ स्टेडियम थियो, जहाँ उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । र, इतिहासको चक्र हेर्नुस्, सायद यही स्टेडियममा उनले आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम गोल पनि गरे । 

यहाँ हरेक महान् खेलाडीले सुखद अन्त्य पाउँदैनन् । केहीले ट्रफी उचालेर सानसँग बिदा लिन्छन् । तर, केही यस्ता अभागी नायक पनि हुन्छन्, जसले मैदानमा आफ्नो रगत–पसिना सबै बगाउँदा पनि अन्तिममा एउटा अधुरो सपनाको भारी बोकेर मैदान छोड्नुपर्छ । त्यही दुर्भाग्यशाली सूचीको सबैभन्दा पहिलो स्थानमा पर्छन् नेयमार । उनी ब्राजिलियन फुटबल इतिहासकै सबैभन्दा चर्चित र प्रतिभाशाली खेलाडीमध्येका एक हुन् । उनले खुट्टामा अद्भूत जादु छ । खेलमा अकल्पनीय ड्रिब्लिङ कला छ । तर, विश्वकपको ट्रफी जित्ने सपना पूरा नगरिनै अन्तर्राष्ट्रिय फुटबललाई ‘अलविदा’ भन्नुप¥यो । यो केवल एउटा खेलाडीको बिदाइ मात्र होइन, एउटा सुनौलो सपनाको दर्दनाक अन्त्य हो । मैदानमा घोप्टो परेर रोइरहेका नेयमारको यो रूप देख्दा कुन चाहिँ फुटबलप्रेमीको मन नरोला र १

ब्राजिलमा जन्मनुको एउटै फाइदा र सराप छ– तपाईंले देशका लागि जतिसुकै गोल गर्नुहोस्, जतिसुकै जादु देखाउनुहोस्, जबसम्म विश्वकपको ट्रफी उचाल्नुहुन्न, तबसम्म तपाईंलाई महान कहिल्यै भन्दैनन् । नेयमारले ब्राजिलका लागि पेलेको सर्वाधिक गोलको कीर्तिमान त तोडे, तर पेलेले जस्तो देशलाई विश्वकप दिलाउन सकेनन् । तथ्याङ्कका राजा भएर पनि उनी ट्रफी जित्ने मामिलामा अभागी साबित भए । सन् २०१४ देखि नै ब्राजिलको जर्सीमा छैटौँ सिक्स्थ स्टार थप्ने सम्पूर्ण भार नेयमारकै काँधमा थियो, तर एक्लो वृहस्पतिले मात्र कतिन्जेल देशको त्यो विशाल सपना धान्न सक्थ्यो र १

नेयमारको करियर जति जादुमयी रह्यो, त्यति नै पीडादायी पनि बन्यो । हरेक ठूला प्रतियोगितामा उनको जादुमयी खुट्टा विपक्षी डिफेन्डरहरूको तारो मात्र बनेन, भाग्यले पनि उनलाई पटक–पटक धोका दियो । सन् २०१४ मा आफ्नै देशमा विश्वकप जित्ने सपना बोकेका नेयमार क्वार्टरफाइनलमा कोलम्बियाविरुद्ध ढाडको गम्भीर चोटको सिकार भए । उनी मैदानबाहिर के पुगेका थिए, सेमिफाइनलमा जर्मनीले ब्राजिललाई ७–१ को ऐतिहासिक हार चखायो । नेयमारका आँसुले त्यतिबेलै सङ्केत गरिसकेका थिए कि उनको अन्तर्राष्ट्रिय यात्रा सहज हुनेवाला छैन । क्लब फुटबलमा बार्सिलोनामा मेस्सी र सुआरेजसँग मिलेर उनले संसार जिते, तर देशको जर्सीमा भने उनको भाग्यले सधैँ लुकामारी खेलिरह्यो ।

सन् २०१८ को विश्वकपमा उनी पूर्ण रूपमा फिट थिएनन् । २०२२ को कतार विश्वकपमा क्रोएसियाविरुद्ध अतिरिक्त समयमा उनले गरेको त्यो म्याजिकल गोलले ब्राजिललाई सेमिफाइनलको दैलोमा पु¥याएको त थियो, तर टाइब्रेकरमा भाग्यले फेरि धोका दियो । पिचमा घोप्टो परेर रोइरहेका नेयमारको त्यो तस्बिर फुटबल प्रेमीको छातीमा सधैँ बिझाउने बनेको छ । 

नेयमारको करियर सधैँ विवाद र प्रशंसाको दोसाँधमा हिँडिरह्यो । आलोचकहरू उनी मैदानमा बढी नाटक गर्थे, चोटको निहुँ पार्थे र आफ्नो विलासी जीवनशैलीमा बढी केन्द्रित थिए भन्दै टिप्पणी गर्थे । तर, मैदानभित्रको कटु यथार्थ अर्कै थियो । विपक्षीहरू उनलाई रोक्न हिंस्रक र घातक फाउल गर्थे । जसले उनको खेलजीवन नै धरापमा प¥यो । एकतारि मेस्सी र रोनाल्डो जस्ता स्टारहरुको स्वर्णिम युगमा जन्मिनु नेयमारका लागि दुर्भाग्य बन्यो भने, अर्कोतिर चोटले उनको ऊर्जा र स्वर्णिम समयलाई ग्रहण लगाइदियो । 

त्यसोभए, के विश्वकप नजित्दैमा नेयमार असफल खेलाडी हुन् तरु बिल्कुलै होइनन् १ पेले, नाजारिया रोनाल्डोे र रोनाल्डिन्हो जस्ता दिग्गजहरूको विशाल छायाबाट निस्किएर ब्राजिलियन फुटबललाई एक दशकभन्दा बढी समयसम्म एक्लै आफ्नो इसारामा नचाउने उनी एकमात्र नायक हुन् ।

नेयमारको बिदाइ पक्कै पनि निराशाजनक र आँसुले भरिएको भयो, अनि विश्वकपको त्यो सुनौलो ट्रफीको सपना उनको हातमा सधैँका लागि अधुरै रह्यो । तर, जब–जब फुटबल संसारमा कला, सौन्दर्य र सम्मोहन गर्ने ड्रिब्लिङको कुरा आउनेछ, तब–तब नेयमारको नाम सम्मान र गर्वका साथ लिइनेछ ।

हालान्डको उदय 

यता, मैदानमा नेयमार रोइरहँदा अर्कोतिर हालान्ड भने भाइकिङ रो शैलीमा उत्सव मनाइरहेका थिए। हुन त खेलको एउटा तितो यथार्थ नै यही हो– एकतिर हाँसो, अर्कोतिर आँसु। हालान्डले भाइकिङ रो गरेर ब्राजिललाई हराएको खुसी मात्रै साटिरहेका थिएनन्, हालान्ड युगको सुरुवात भएको घोषणा पनि गरिरहेका थिए । धेरैले उनलाई जिस्काउँदै ’मान्छे होइन, फुटबलको राक्षस’ पनि भन्ने गरेका छन् । हामी फुटबल हेर्दा अक्सर बल जता छ, त्यतै मात्र ध्यान दिन्छौँ। तर हालान्डको असली जादु बल नभएको ठाउँबाट सुरु हुन्छ, जसलाई फुटबलको दुनियाँमा ’अफ–द–बल मुभमेन्ट’ भनिन्छ । उनी मैदानमा धेरै समय सक्रिय नदेखिए पनि गोल गर्ने बेलामा भने उनी नै सबैभन्दा अगाडि हुन्छन् ।

६ फिट ४ इन्च उचाइ भएका हालान्डको फुटबल मैदानमा खेलको कद पनि उत्तिकै अग्लो छ । उनीसँग एक्सप्रेस ट्रेन जस्तै तीव्र गति र अद्भुत शारीरिक शक्ति छल । मैदानमा उनी जब लामा–लामा पाइला चालेर दौडिन्छन्, उनलाई रोक्न डिफेन्डरहरूका लागि धक्का दिएर लडाउनु बाहेक विकल्प हुँदैन, तर उनीसँग ठोक्किने डिफेन्डरहरू उल्टै उछिट्टिएर पछारिन्छन् । यही सुगठित शरीर र अग्लो कदका कारण एरियल बलमा त उनको एकलौटी साम्राज्य चल्छ, जसमा उनलाई रोक्न संसारका उत्कृष्ट डिफेन्डरहरूलाई पनि हम्मेहम्मे पर्छ ।  

धेरैजसो स्ट्राइकरहरूलाई खेलमा भिज्न र प्रभाव जमाउन बारम्बार बल चाहिन्छस उनीहरू ड्रिब्लिङ गर्छन् र आफ्नो कलाबाजी देखाउँछन्। तर हालान्ड ‘कम बोल्ने, काम धेरै गर्ने’ शैलीका बिल्कुलै फरक विधाका खेलाडी हुन । उनी कम टचमा बढी गोल गर्न खप्पिस छन्। कतिपय म्याचमा उनले जम्मा १०–१२ पटक मात्र बल छुने गर्छन्, तर त्यतिमै दुई वा तीन गोल गरिसकेका हुन्छन्। उनको यो ‘क्लिनिकल फिनिसिङ’ र ‘टच–टु–गोल’ रेटियो विश्वकै सबैभन्दा घातक मानिन्छ । अन्तर्राष्ट्रिय खेल करियरकै कुरा गर्ने हो भने, वर्तमान फुटबलका अर्का सबैभन्दा सफल खेलाडी किलियन एम्बाप्पेले १०३ खेलमा ६३ गोल गर्दा, हालान्डले ५४ खेलमा ६२ गोल गरिसकेका छन् । अब हालान्डको यो रफ्तार कहिलेसम्म रहिरहन्छ र कहाँसम्म पुग्लारु यो त समयले नै बताउला, तर वर्तमानमा भने उनी रोकिने कुनै छाँटकाँट देखिँदैन ।

भिडियो

प्रतिक्रिया दिनुहोस्