Logo
Logo

बहुमूल्य बोधिचित्तमा प्रहरीको आँखा


1k
Shares

काठमाडौं । काभ्रेका किसानहरुको प्रमुख आम्दानीको स्रोत बन्दै गएको बुद्धचित्त (बोधिचित्त) मालामा प्रहरीको समेत आँखा पर्न थालेको छ । प्रहरीले सुरक्षाका नाममा बोधिचित्त माला खरिदबिक्रीमा चलखेल गर्न थालेपछि किसान र व्यवसायी त्रसित बनेका छन् ।

विशेषगरी बहुमूल्य बोधिचित्तका बोटहरुमा निगरानी गर्ने, त्यसको गुणस्तर र मूल्य बुझ्ने अनि त्यहाँबाट कमिसन खान अनेक सेटिङ मिलाउने धन्दा अहिले काभ्रे प्रहरीले चलाइरहेको छ । व्यापारीबाट कमिसन पाए माला टिप्नदेखि काठमाडौँ लैजानसम्म सहज वातावरण बनाइदिने र नपाउने अवस्था आए किसान, व्यापारीलाई धम्क्याएर किचलो गराइदिने, व्यापारीलाई बिक्री गरिसकेको माला किसानलाई जबरजस्ती टिप्न लगाइदिनेसम्मका गतिविधि प्रहरीबाट हुन थालेको छ । यसको नेतृत्व जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले नै गरिरहेका छन् ।

प्रहरीले बोधिचित्तको सुरक्षाको नाममा कमाउ धन्दा चलाइरहेको छ । प्रहरीको यस गतिविधिले स्थानीय व्यवसायी तथा सरोकारवालाहरु मारमा मात्र परेका छैनन्, किचलो, झैझगडा र द्वन्द्वको स्थितिसमेत सिर्जना भएको छ । प्रहरीले नै कानुनमाथि आँखा चिम्लिएर आर्थिक लाभका लागि विभिन्न हर्कतहरु गर्न थालेपछि किसानहरु समेत दोहोरो मारमा परेका छन् ।

जिल्ला प्रहरी प्रमुख कार्कीले यस धन्दाका लागि प्रहरी निरीक्षक (सई) राजेन्द्र ढुंगेलको नेतृत्वमा टोली खटाएका छन् । यस टोलीले बोधिचित्तको सुरक्षाका नाममा बहुमूल्य बोटहरुको खोजी गर्ने, सेटिङ मिलाउने, कमिसन खाने काम गरिरहेको खुलेको छ । पछिल्लो पटक रोशी–११ मा भएको घटनाले प्रहरीको गैरकानुनी संलग्नता उजागर भएको छ ।

स्थानीयका अनुसार रोशी गाउँपालिका–११ का मोहनबहादुर रायमाझीले तेमाल गाउँपालिका–६ का साम्देन लामा र रोशी गाउँपालिका–५ का सञ्जय लामासँग बुद्धचित्त माला सम्बन्धी सम्झौता गरेका थिए । उक्त सम्झौता पत्रमा माला हस्तान्तरण तथा वितरण गर्ने करारनामा भएको छ । तर एसपी कार्कीको निर्देशनमा प्रहरी प्रशासनको संलग्नतामा उक्त सम्झौता प्रक्रिया प्रभावित पारेर जबरजस्ती माला टिपिएपछि प्रहरी विवादमा मुछिएको हो । कानुनी रूपमा सम्झौता गरेका पक्षलाई प्राथमिकता दिनुपर्नेमा प्रहरीको ‘सेटिङ’ मार्फत अन्य व्यक्तिलाई जबरजस्ती माला उपलब्ध गराइदिएपछि यसमा निकै ठूलो आर्थिक चलखेल भएको आशंका गरिएको छ ।

स्थानीय स्रोतका अनुसार मालाधनी मोहनबहादुर रायमाझीले माला खरिदबापत करिब ९ लाख रुपैयाँ प्राप्त गरिसकेका थिए । उक्त रकमको लेनदेन भएको भिडियोसमेत रहेको छ । तर बुद्धचित्त माला सुरक्षाका लागि खटिएका प्रहरीले ‘एसपीको आदेश’ भन्दै दबाब दिएर माला टिपेपछि स्थानीय समेत चकित परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाका लागि खटिएका प्रहरी निरीक्षक (सई) ढुंगेलले नै ‘जसरी पनि माला टिपेर ल्याउन’ एसपी कार्कीले निर्देशन दिएको भनेपछि घटनाले स्थानीयमा समेत त्रास सिर्जना भएको छ । यस विषयमा प्रहरी प्रमुख कार्कीसँग प्रतिक्रिया लिन खोज्दा उल्टै उनले सई ढुंगेलको बचाउ गर्नुले पनि बोधिचित्त मालामा प्रहरीको सेटिङ हुने गरेको प्रष्ट हुन्छ ।

सई ढुंगेलले रोशी–११मा जबरजस्ती टिपाएको माला प्रहरीले नै स्कटिङ गरेर साँगा कटाएको थियो । यस घटनाले काभ्रेका प्रहरी प्रमुख कार्कीले बोधिचित्तबाट ठूलै रकम असुल्ने योजना बनाएको समेत प्रष्ट रुपमा खुलेको छ । कार्कीले काभ्रेमा प्रहरी प्रमुखको कमाण्ड सम्हालेदेखि नै उनको नजर बहुमूल्य बोधिचित्तमा परेको व्यापारीहरु नै बताउँछन् । काभ्रेका ‘बोधिचित्त’ मालामा किसानले उचित मूल्य नपाउने, विचौलिया र व्यापारीहरुको मनोमानी चलिरहँदा प्रहरी समेत बिकाउ हुन थालेपछि सुरक्षामा समेत गम्भीर चिन्ता पैदा भएको छ ।

बोधिचित्त माला तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । परापूर्वकालदेखि काभ्रेको तिमाल क्षेत्रमा पाइने बोधिचित्त माला आकर्षक मूल्यमा विदेश निर्यात हुने गरेको छ । काभ्रेको नमोबुद्ध, रोशी, तेमाल लगायतको क्षेत्रमा यसको व्यवसायिक खेती नै हुने गरेको छ ।

बुद्ध धर्म मान्नेहरुको लागि यो माला विशेष मानिन्छ । चीन, जापान, कोरिया, थाइल्यान्ड, तिब्बत, भिएतनाम, मकाउ, ताईवान आदी देशहरुमा यसको माग उच्च छ । बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । ३ देखि ७ मुखेसम्मको मूल्य प्रतिगोटा ४ सयदेखि ६ लाखसम्म पर्छ ।

दुई मुखे मालाको भने साइज अनुसार मुल्य निर्धारण गरिएको हुन्छ । ७ मिमी को १०८ गेडा (एक माला) कै लाखभन्दा माथि पर्ने गर्छ । सबै ठाउँमा उही प्रकारको फल नफल्ने भएकाले यसलाई काभ्रेका किसानहरुले भाग्यका रुपमा समेत लिने गरेका छन् । यसको विरुवा पनि प्रतिगोटा एक सय रुपैयाँदेखि ३५–४० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्