काठमाडौं । युवा गजलकार भीम सिंह धामीको दोस्रो गजल सङ्ग्रह ‘इजर’ को आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच विमोचन गरिएको छ ।

प्रा.डा. महादेव अवस्थी, भाषाविद् डा. पदमराज कलौनी र कृषि विकास बैङ्कका पूर्व सञ्चालक समिति सदस्य घनश्याम अवस्थीलगायतले संयुक्त रूपमा उक्त सङ्ग्रहको विमोचन गरेका हुन् ।
विमोचित कृतिका बारेमा समालोचक तथा गजलकार द्वय सङ्गीता थापा र रूपक बनबासीले समीक्षा गरेका थिए । समीक्षाका क्रममा उनीहरूले सङ्ग्रहभित्र प्रेमको मिठासदेखि राजनीतिको तीतो यथार्थसम्म, र समाजको ऐनादेखि माटोको सुगन्धसम्मका विविध विषयवस्तु समेटिएको बताए । जीवनका भोगाइ र देशको वर्तमान अवस्थालाई कलात्मक रूपमा प्रस्तुत गरिएको यो कृति पाठकका लागि पठनीय र सङ्ग्रहणीय रहेको समीक्षकहरूको भनाइ थियो ।
बाबु त्रिपाठीले संयोजन गरेको उक्त विमोचन कार्यक्रममा विभिन्न साहित्यकार, स्रष्टा तथा बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो । गजलकार धामीको यसअघि वि.सं. २०८० मा ‘अनमोल’ गजल सङ्ग्रह प्रकाशित भइसकेको छ ।














