काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दै छ । संसदीय दलका नेता खगराज भट्टले आज बिहीबार बिहान ११ बजेका लागि प्रदेश संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् ।

सुदूरपश्चिममा विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन नेकपाले बैठक बोलाइएको हो । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार एमालेतर्फका ४ मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसले गर्दा कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार अल्पमतमा परेको छ ।
बजेट पारित गराउन मुख्यमन्त्री शाहले नेकपासँग सहयोगको आग्रह गरेका छन् । नेकपाले वर्तमान सरकारलाई समर्थन नगर्ने अडान राखेको छ । नेकपाले प्रदेश सरकारको नेतृत्वमै दाबी गरिरहेको छ ।














