Logo
Logo

निता मृत्यु प्रकरण : एभरेस्ट अस्पताल र चिकित्सकको लापरबाही, ३९ लाख क्षतिपूर्ति दिन आदेश


1.3k
Shares

काठमाडौं । उपभोक्ता अदालतले प्रसूति उपचारका क्रममा मृत्यु भएकी मनिता शर्माको उपचारमा लापरबाही भएको ठहर गर्दै एभरेस्ट अस्पताल र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्योत्सना शर्मा तिवारीलाई पीडित परिवारलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।

The current image has no alternative text. The file name is: evrest-hospital.jpg

अदालतका अध्यक्ष डा। दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको इजलासले अस्पतालबाट ३० लाख रुपैयाँ तथा डा.तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

सिभियर प्रि–एक्लेम्प्सियाबाट पीडित बिरामीलाई सिजेरियन शल्यक्रियाअघि अनिवार्य रूपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि समयमै नदिइएको उपचार प्रक्रियाको गम्भीर त्रुटि रहेको अदालतले ठहर गरेको छ । उक्त औषधि शल्यक्रियापछि मात्र दिइएको र यही लापरबाहीले बिरामीको अवस्था थप जटिल बनेको अदालतको ठहर छ ।

मनिता शर्मा २५ मङ्सिर २०८१ मा पेटको माथिल्लो भाग दुखेपछि एभरेस्ट अस्पताल भर्ना भएकी थिइन् । साँझ सिजेरियनमार्फत शिशुको जन्म भए पनि त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । थप उपचारका लागि ह्याम्स अस्पताल रेफर गरिएकी उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मृतकका श्रीमान् सुवास पराजुलीले उपचारमा चिकित्सकीय लापरबाही भएको दाबी गर्दै उपभोक्ता अदालतमा क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका थिए । अदालतले चिकित्सकको व्यक्तिगत जिम्मेवारीसँगै अस्पतालको संस्थागत तथा प्रशासनिक दायित्वसमेत रहेको निष्कर्ष निकाल्दै दुवै पक्षलाई उत्तरदायी ठहर गरेको हो । प्रतिवादी अस्पताल र चिकित्सकले भने उपचारमा कुनै लापरबाही नभएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्