काठमाडौं । लगातार पानी परिरहे पनि नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकमा कतै अवरोध नरहेको प्रहरीले जनाएको छ । पानी पर्नेबित्तिकै पहिरो खसेर समस्या हुने यी सडकमा गएराति र अहिले निर्वाध रुपमा गाडी चलिरहेका मुग्लिन प्रहरीले जनाएको छ ।

बाढीपहिरोका कारण केही सडक भने अवरूद्ध छन् । प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ । बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यस्तै बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी र काठमाण्डौ–हेटौंडा जोड्ने कान्ति लोकपथमा यसअघिदेखि नै रातको समयमा गाडी चलाउन रोक लगाइएको छ ।
असार २३ गतेदेखि मेची राजमार्ग अन्तर्गत इलाम खण्ड पूर्ण अवरुद्ध छ । अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक पनि असार २८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।














