काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको नियतमा शङ्का गर्नुपर्ने कुनै ठाउँ नभएको बताएका छन् । शनिवार रौतहटमा रास्वपा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै लामिछानेले सरकारका नीतिगत निर्णयहरू व्यावहारिक रूपमा जनतालाई हानि पुर्याएमा तत्काल सच्याउने बताएका हुन् ।

“सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसलाई करेक्सन गर्न सकिन्छ । तर नियत खराब भयो भने करेक्सन गर्न गाह्रो हुन्छ,” लामिछानेले भने, “हजारौं निर्णय गर्दा दुई-चारवटा विवादित हुन सक्छन् । किसानकै पक्षमा निर्णय गर्दा पनि त्यही निर्णय किसानकै विपक्षमा परिणत भयो भने व्यावहारिक रूपमै सच्याउन सकिन्छ ।”
उनले सुरुमा विवादित देखिएका केही निर्णयहरू कालान्तरमा सही साबित भएको उदाहरण दिँदै मादक पदार्थ सेवन ९मापसे० जाँचको नीतिलाई उल्लेख गरे । उनले नागरिकलाई केही समय धैर्य गर्न आग्रह गर्दै उनले भने, “केही निर्णय सुरुमा विवादास्पद लाग्न सक्छन्, तर पछि ती नागरिकको हित र सुरक्षाका लागि प्रभावकारी हुन्छन् ।”
किसान, मजदुर र गरिब वर्गलाई कुनै पनि नीतिले अप्ठ्यारो पारेमा त्यस्ता निर्णय परिवर्तन गरिने उनको भनाइ छ । नयाँ प्रवेशीहरूलाई स्वागत गर्दै सभापति लामिछानेले पार्टी गलत बाटोमा लागेमा कार्यकर्ताहरूले मात्र ताली बजाउने नभई औँला उठाएर खबरदार गर्नुपर्ने जिम्मेवारी समेत रहेको स्मरण गराए ।














