काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष निकालेको छ ।

मंगलबार बिहान ११ बजेर २० मिनेटमा श्रेष्ठ आफैँले चलाएर बा.५ च ३०३८ नम्बरको कार लिएर ट्याङ्गलाफाँटस्थित चाँदनी चोकमा पुगेका थिए । सडकबाट केही पर खाली जग्गामा गाडी पार्किङ गरेपछि कारभित्रैबाट आगो सल्किएको प्रत्यक्षदर्शीहरुले देखेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र कीर्तिपुर वृत्तले गरेको अनुसन्धानबाट सुरेशचन्द्र आफैँले आत्मदाह गरेको खुलेको हो ।
घटनास्थलमा पुगेका प्रहरीले आगो निभाउने प्रविधिको प्रयोग गरेर आगलागी नियन्त्रणमा लिँदा श्रेष्ठ चालक सिटमा मृत अवस्थामा भेटिएका थिए । ७० वर्षीय श्रेष्ठ औषधी व्यवसायी हुन् ।














