
स्वर्णिम वाग्लेले मनको भारी बिसाउन रवि लामिछानेलाई बोकेर दूषिथानी रिसोर्ट के पुगेका थिए, यता बालेनको पेट दुःखी हाल्यो । नदुःखोस् पनि किन, जसलाई वाग्ले भन्ने मान्छे नै मन परेकै छैन, त्यसैसँग रिसोर्टमा पुगेपछि बालेनको पेट दुख्ने नै भयो ।
यहाँसम्म त ठिकै थियो, रिसोर्टमा रवि र स्वर्णिमबीच भएका कुरा सुनेको भए अझ बालेनको पेटमात्र होइन, टाउको दुख्ने थियो । रवि र स्वर्णिमबीच बालेनको ‘टर्चर’का विषयमा लामै कुराकानी भयो । त्यो कुराकानीअनुसार पार्टी एउटा निर्णयमा पुग्ने हो भने बालेनको दिनगन्ती सुरु होला जस्तो छ भनेर बुझ्दा कसो होला कुमार बेनज्यू ?
प्रचण्डको कानमा चिनी
कुनै बेला माधवकुमार नेपालको नाम लिँदा पनि ‘कुल्ला’ गर्छु भन्ने केपी ओलीलाई अहिले त्यही माधव नेपाल चाहिएको छ । एमालेभित्रै कमजोर भएका ओली प्रदेश राजनीतिमा पनि ‘गोलखाडी’ भए भने एमाले सिद्धिन समय कुर्नु पर्दैन ।
त्यसैले होला, सुदूरपश्चिम प्रदेशको सरकार गठनदेखि वाम गठबन्धनको यात्रा तय गरेर प्रचण्डको कानमा ओलीका धुपौरेहरुले चिनी हालिसकेका छन्, अब माधव नेपालको कानमा चिनी हाल्न सकियो भने खेलै खत्तम कसो प्रकाश ज्वाला कमरेड ?
ऐनको बिज्रो चिलायो
एमाले संसाद ऐन महर पनि अचम्मैका सांसद छन्, सदनमा पस्यो कि महरको जिब्रो चिलाइहाल्छ, के बोल्यो पत्तै हुँदैन । हुँदाहुँदा संसदमा उनले केपी बाको नाम लिदै सरकार चलाउने भए केपी ओलीबाट सिक्नुस् भनेर बोले ।
उनको ठाउँमा कुरो ठिकै होला, तर त्यत्रो जेनजी विद्रोह दबाएर हेलिकप्टर चढेर भाग्ने ओलीबाट शासन सत्ता चलाउन कुन मुर्खले सिक्ला र ? कसो, गुरु बराल कमरेड ?
अखिलको ताल
बालेन त बालेन नै भए, उनले जे गर्दा पनि भयो । बालेनको लहलहैमा लागेर अखिलका विद्यार्थीहरु पनि बालेन जस्तै भएको देखेर ट्राफिक प्रहरीले पनि अचम्म मानेका छन् ।
सञ्चारमाध्यममा अज्ञात व्यक्तिहरुले गाडी पार्किङ गरेको विरोधमा अखिलका विद्यार्थीहरुले सिंहदरबार अगाडि बाइक पार्किङ गरेर हैरान गरे । ट्राफिकले के गरेको भनेर सोध्दा– सरकारले पार्किङ गर्न सिकाएको भनेर जवाफ दिए । अब ट्राफिक नियम पनि अखिलबाटै सिक्नुप¥यो कि कसो दीपक धामीज्यू ?
दुर्गा प्रसाईंको छटपटी
बालेन सित्तिमित्ति कसैसँग भेट्ने व्यक्ति होइनन् । उनको कमजोरी भने पनि विशेषता भने पनि यही नै हो । अहिलेसम्म संसद्लाई सम्बोधन नगरेका बालेनले कांग्रेस, कम्युनिष्ट नेताहरुसँग किन भेट्थे ? भेटेनन् भनेर किन रुवावासी गर्नु ?
उनलाई जोसँग मन लाग्छ त्योसँग भेटेकै छन् त, देख्नु भएन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेको ? भेट्न पनि एजेण्डा मात्र होइन, मन पनि मिल्नुप¥यो नि, रास्वपा महाधिवेशनमा राजेन्द्र लिङदेनले झापाका राजावादीहरुले पनि बालेनलाई ‘भोट’ हालेकोले अब राजा फर्काउने जिम्मा पनि सार्वजनिक रुपमा बालेनलाई नै दिए । कतै त्यसैको निरन्तरता त होइन, यो भेट ? कुरा नबुझेर दुर्गा प्रसाईं छटपटाइरहेका छन् रे ?














