काठमाडौं । धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा.गोविन्द केसी र सरकारबीच आज वार्ता हुने भएको छ । वार्ताबाट अनशनको निकास खोज्न सरकारी टोली आज धनगढी पुगेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा आज आइतबार धनगढी पुगेका हुन् ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनमा मन्त्रालयका सचिव चूडामणि पौडेल शनिवार नै धनगढी पुगिसकेका छन् । शिक्षामन्त्री पोखरेलले शुक्रवार साँझ डा। केसीसँग टेलिफोन संवाद गर्दै वार्ताको वातावरण बनाएका थिए ।
धनगढी पुगेको टोलीले आजै डाक्टर केसीका प्रतिनिधिसँग वार्ता गर्ने छ । सरकारले सम्वादमार्फत नै सत्याग्रहको निकास खोज्ने प्रयास गरिरहेको जनाएको छ ।
यसैबीच स्वास्थ्यमा समस्या देखिएपछि डा.केसीलाई शनिवार चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको छ ।














