काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा ल्याएको छ।

अब राष्ट्रिय परिचयपत्र भएका नेपाली नागरिकले नागरिक एपमार्फत नै ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन् ।
बैंकका अनुसार नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी एपमार्फत बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर खाता खोल्ने प्रक्रिया सुरु गर्न सक्नेछन्।
यसका लागि नागरिक एप प्रयोगकर्ताले बैंक खाता खोल्न आवश्यक क्यूआर कोड उल्लेख गरिएको लिंकमा क्लिक गरी आवश्यक विवरण भर्न सक्ने व्यवस्था गरिएको छ। खाता खोल्ने प्रक्रियामा बैंकले नागरिक एपबाट सुरक्षित रूपमा व्यक्तिगत विवरण प्राप्त गर्ने जनाएको छ ।
यो व्यवस्थाबाट ग्राहकले पुनः व्यक्तिगत विवरण प्रविष्ट गर्नुपर्ने झन्झट हट्ने, ग्राहकको गोपनीयता तथा सूचनाको सुरक्षा सुनिश्चित हुने विश्वास बैंकले व्यक्त गरेको छ । नागरिक एपमार्फत खोलिएको खाताको सञ्चालनका लागि ग्राहकले आफ्नो नजिकको ग्लोबल आइएमई बैंकको शाखा कार्यालयमा गई वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्नेछ ।
सरकारी डिजिटल पूर्वाधारको प्रयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।














