Logo
Logo

नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’ नेपालका लागि ऐतिहासिक क्षण हो : जापानी राजदूत माएदा तोरु


630
Shares

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार भव्य समारोहबीच ‘ब्रेक थ्रु’ (छिचोलिएको) गरिएको छ ।

 आयोजनाको मुख्य सुरुङ छिचोलिएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि जापानी राजदूत माएदा तोरुले यस उपलब्धिलाई नेपालको पूर्वाधार विकासको इतिहासमा ऐतिहासिक क्षण र नेपाल-जापान मैत्री सम्बन्धको कसिलो कडीका रूपमा चित्रण गरेका छन् । नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठकै वर्ष यो सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनुले थप विशेष महत्त्व राखेको राजदूत तोरुले बताए । 

यो सुरुङमार्गले नेपालको यातायात क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको उनले बताए । काठमाडौंलाई धादिङ र पोखरातर्फ जोड्ने मुख्य नाकामा अवस्थित यो सुरुङमार्गले कठिन भौगोलिक अवस्थाका कारण हुने यातायात अवरोध र समयको बचत गर्दै वस्तु तथा सेवाको ढुवानीलाई सहज बनाउनेछ । यसबाट स्थानीय समुदायको जीवनस्तरमा सुधार आउनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन महत्त्वपूर्ण योगदान पुग्ने राजदूत तोरुको भनाइ छ ।

हिमालय क्षेत्रको जटिल भूगर्भ र सक्रिय भौगर्भिक अवस्थाका कारण निर्माणका क्रममा विभिन्न प्राविधिक चुनौतीहरू सामना गर्नुपरेको थियो । वर्षायाममा हुने पहिरो र जमिनको मुभमेन्टका बाबजुद जापानी विज्ञहरूको अनुभव र नेपाली प्राविधिक तथा श्रमिकहरूको अथक परिश्रमले आयोजना सफल भएको उल्लेख गरे । जापानले निर्माण गरेका करिब १५ हजारभन्दा बढी सुरुङमार्गहरूको प्राविधिक ज्ञान यस आयोजनामा प्रयोग गरिएको र यसबाट नेपाली इन्जिनियरहरूले प्राविधिक सीप र सुरक्षा मापदण्डका विषयमा महत्त्वपूर्ण अनुभव हासिल गरेको विश्वास जापान सरकारले लिएको उनको भनाइ छ । 

सुरुङ खन्ने कार्य सफलतापूर्वक सम्पन्न भएसँगै अब यसको प्रभावकारी सञ्चालन र मर्मतसम्भारको जिम्मेवारी नेपाल सरकारको हातमा आएको छ । राजदूत तोरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस सुरुङमार्गको स्वतन्त्र र दिगो व्यवस्थापनका लागि आफ्नै सञ्चालन क्षमता विकास गर्नेमा जापान सरकार विश्वस्त रहेको बताए । नेपालको लोकतान्त्रिक प्रक्रिया र विकासको लक्ष्यप्रति ऐक्यवद्धता जनाउँदै राजदूत तोरुले नेपालको स्थिरता र समृद्धिका लागि जापानको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । नागढुङ्गा सुरुङमार्गले नेपालको आर्थिक विकासको प्रवेशद्वारको रूपमा काम गर्ने र भविष्यमा दुई देशबीचको सहकार्य अझ प्रगाढ हुने उनले विश्वास व्यक्त गरे । 
 

प्रतिक्रिया दिनुहोस्