काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । शाहले घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख समेत गरेका छन्।
प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान सुरु भइसकेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् । सरकारले सम्पूर्ण घटनाको गम्भीर समीक्षा गरिरहेको र यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय तथा सुधारका कदम चालिने उनको भनाइ छ ।
साथै नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान समेत गरेका छन् ।
उनले भनेका छन्,, “फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनूहोला । सुरक्षित र संयमित भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सद्भाव कायम राखौँ ।”














