काठमाडौं । नेपाल चिकित्सक संघले आज बुधबार पनि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेको छ ।

पर्साको वीरगन्जमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका वीरगन्ज महानगरपालिका–२५ का ५४ वर्षीय राजकुमार पटेलको साउन ८ मा ज्यान गएको थियो । गम्भीर हृदयाघात भएर अस्पताल पु¥याएका पटेलको उपचारकै क्रममा ज्यान गएपछि परिवार र आफन्तले डाक्टर प्रमोद राममाथि आक्रमण तथा अस्पतालमा तोडफोड गरेका थिए ।
सोही घटनाका दोषीलाई कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै सङ्घले हिजो मङ्गलबारदेखि नै आन्दोलन सुरु गरेको हो । सङ्घले दोषीलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै तीव्र असन्तुष्टि जनाउँदै आएको छ ।
आन्दोलनकै निरन्तरतास्वरूप आज बिहान १० बजे काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने र उपत्यकाबाहिरका जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउनुका साथै कार्यस्थलमै धर्ना दिने सङ्घको तयारी छ ।
यसरी देशभरका ओपीडी सेवा पूर्ण रूपमा ठप्प हुँदा हजारौँ बिरामीहरू उपचारबाट वञ्चित भई थप सास्ती भोग्न बाध्य भएका छन् ।
यता स्वास्थ्य मन्त्रालयले भने स्वास्थ्य क्षेत्रमा भएका कुटपिट तथा दुव्र्यवहारका घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य सेवाको संवेदनशीलतालाई मनन गरी नागरिकको उपचारमा अवरोध नगर्न सङ्घलाई अपिल गरेको छ ।














