काठमाडौं । सुनसरीको देवानगन्जमा भएको घटनालाई लिएर प्रदर्शन नरोकिएपछि सुनसरीका विभिन्न १० क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराति फेरि कफ्र्यु विस्तार गरी १० पालिकामा लागू गरेको हो । प्रशासनले गएराति ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका– १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँबायाँ दुई सय मिटर क्षेत्र, रामधुनी नगरपालिका– १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँबायाँ दुई सय मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिका तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगन्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कफ्र्यु लगाएको हो ।
कफ्र्यु अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नालगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद अर्यालले जानकारी दिएका छन् । यसअघि सोमबार बिहानदेखि लगाइएको कफ्र्यु केही क्षेत्रमा हिजो मंगलबार बिहानदेखि हटाएर निषेधाज्ञा कायम गरिएको थियो ।
तर हिजो दिनभर पनि अवस्था तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दिउँसोपछि महेन्द्र राजमार्गको पूर्वतर्फ इटहरीको पकली चोकदेखि पश्चिमतर्फ कोशी ब्यारेजसम्म अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको थियो ।
गए रातिदेखि फेरि तेस्रो पटक प्रशासनले कफ्र्यु थप विस्तार गरेको हो । देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो । धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलका नेताहरूले अपील गरेका छन् ।














