Logo
Logo

मधेश र कोशीका रास्वपा सांसदलाई रविको निर्देशन: ‘जिल्ला जानुस्, सद्‌भाव कायम गर्न जुट्नुस्’


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आ-आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा पुगेर सामाजिक सद्भाव कायम राख्ने कार्यमा जुट्न निर्देशन दिएका छन्।

बिहीबार सिंहदरबारमा कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई आकस्मिक रूपमा बोलाएर सभापति लामिछानेले उक्त निर्देशन दिएका हुन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद रहवर अन्सारीले सुनसरी घटनापछि विकसित अवस्थाबारे सभापति लामिछानेलाई ब्रिफिङ गरिएको र उनले सामाजिक सद्भाव कायम राख्न सांसदहरूलाई स्पष्ट निर्देशन दिएको जानकारी दिए।

“यो घटनाको गम्भीरतालाई बुझेर पार्टीका सबै सांसदहरू काठमाडौंमा मात्र सीमित नभई आ-आफ्नो क्षेत्र र जिल्लामा पुगेर समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ भनेर उहाँले भन्नुभएको छ,” सांसद अन्सारीले भने, “सद्भावको सन्देश केन्द्रबाट सुरु गरी गाउँ-टोलसम्म पुर्‍याउनुपर्छ। द्वेष फैलाउने वा बाहिरी तत्त्वहरूले सामाजिक सद्भाव भड्काउन खोजेका छन् भने त्यसलाई मत्थर पार्न सम्पूर्ण सांसदहरू सक्रिय हुनुपर्ने स्पष्ट निर्देशन प्राप्त भएको छ।”

अब सभापति लामिछानेको निर्देशनबमोजिम सांसदहरू आ-आफ्नो जिल्ला र क्षेत्रतर्फ लाग्ने उनले बताए। “हामी आफ्ना जिल्ला र क्षेत्रमा गएर राज्यका संयन्त्रहरूसँग सहकार्य गर्दै काम गर्नेछौँ,” सांसद अन्सारीले थपे।

सुनसरी घटनामा गोली चल्नु र ज्यान जान्नु दुखद् दुर्घटना भएको उल्लेख गर्दै उनले भने, “सामाजिक सद्भाव भड्किनु हामी सबैको सामूहिक समस्या हो। देशलाई एक ढिक्का राख्न सके मात्र हामी सबै सुरक्षित रहन्छौँ भन्ने सभापतिको मुख्य धारणा थियो।”

प्रतिक्रिया दिनुहोस्