Logo
Logo

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सशस्त्र प्रहरीको आग्रह


189
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलले सबै नागरिकलाई शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न आग्रह गरेको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले शुक्रबार जारी गरेको अपीलमा नेपालले पछिल्ला दिनहरूमा देशका केही स्थानमा देखिएको असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाजमा शान्ति, सुव्यवस्था र सद्भाव कायम राख्न समन्वयात्मक ढंगबाट सशस्त्र प्रहरी परिचालन भइरहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा नेपाली समाजले सदियौँदेखि आपसी बन्धुत्व, सहिष्णुता र सहअस्तित्वलाई प्राथमिकता दिँदै संवाद, समझदारी र सद्भावका माध्यमबाट जटिल समस्यासमेत समाधान गर्दै आएको स्मरण गराइएको छ। समाजमा देखिने असमझदारी र मतभेदको समाधान हिंसा, हुलहुज्जत वा दंगाबाट नभई आपसी सहकार्य र संयमताबाट सम्भव हुने सशस्त्र प्रहरीले जनाएको छ।

हिंसा, तोडफोड, आगजनी तथा गैरकानुनी गतिविधिले सामाजिक सद्भाव, राष्ट्रिय सुरक्षा र एकतालाई कमजोर बनाउने भन्दै कुनै पनि आवेग वा उत्तेजनामा आएर समाजमा द्वेष फैलाउने, धार्मिक सहिष्णुता बिथोल्ने वा उत्तेजक गतिविधिमा संलग्न नहुन सबैमा आग्रह गरिएको छ।

सशस्त्र प्रहरीले घटनासम्बन्धी निष्पक्ष छानबिन प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै अहिले संयमता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एक उदाहरण प्रस्तुत गर्ने समय भएको जनाएको छ।

सार्वजनिक अपीलमा भनिएको छ,‘ घटनाका सम्बन्धमा निष्पक्ष छानविन प्रकृया अघि बढिसकेको छ । अहिले हामीले संयमता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गर्ने समय हो । कुनै धर्म, समुदाय वा समूह प्रति घृणा, द्वेष वा उत्तेजना फैलाउने कार्यले समस्यालाई झन् जटिल बनाई समाजलाई अपूरणीय क्षति पुर्याउँछ । सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरूमा शान्ति कायम राखी एकअर्काको सम्मान गर्दै कुनै पनि भ्रामक अभिव्यक्ति नदिन र प्रचार प्रसारण नगर्न समेत सशस्त्र प्रहरी बल, नेपाल हार्दिक अपिल गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्