Logo
Logo

बझाङ विकासका लागि बजेट माग्दै महर


315
Shares

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले बझाङ जिल्लाका विभिन्न स्थानमा आवश्यक पूर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन्।

महरले स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोककुमार साहलाई भेटेर जिल्लामा निर्माण आवश्यक रहेका ४२ वटा मोटरेबल पुल र २२ वटा झोलुङ्गे पुलका लागि बजेट विनियोजन गर्न माग गर्दै पुलहरूको विस्तृत सूची बुझाएका हुन्।

पुल्चोकस्थित विभागको कार्यालयमा भएको भेटमा सांसद महरले बझाङको भौगोलिक विकटता, खोलानालामा पुल अभाव तथा त्यसका कारण स्थानीयवासीले दैनिक आवतजावत, खाद्यान्न तथा निर्माण सामग्री ढुवानीलगायतका काममा भोग्दै आएको समस्या बारे ध्यानाकर्षण गराएका थिए। उनले आवश्यक पूर्वाधार निर्माणले जिल्लाको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए।

ध्यानाकर्षण पत्र बुझ्दै महानिर्देशक साहले मागप्रति विभाग गम्भीर रहेको बताउँदै आवश्यक बजेट व्यवस्थापनका लागि पहल गर्ने र योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटपछि सांसद महरले बझाङको समग्र विकास कुनै एक पक्षको मात्र नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै जिल्लाका विकासका योजनाहरू कार्यान्वयनका लागि सम्बन्धित सबै निकायको सहयोग आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्