काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमाथिको अहिलेसम्मकै ठूलो आक्रमण गर्ने अडानबाट पुनः पछि हटेका छन्। उनले इरानमाथि ठूलो सैन्य आक्रमण गर्ने भन्दै मध्यपूर्व तथा अरब भ्रमणमा रहेका आफ्ना नागरिकलाई स्वेदश फर्किन भनेका थिए। तर, उनले छिट्टै सम्झौता हुने सर्तमा प्रस्तावित सैन्य आक्रमण अहिलेलाई स्थगित गरिएको बताए।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले इरान तथा मध्यपूर्वका केही देशहरूले आक्रमण रोक्न आग्रह गरेपछि यो निर्णय गरिएको दाबी गरेका हुन्। उनका अनुसार सम्झौताको प्रारम्भिक खाकामा हर्मुज पुनः खुला गर्ने तथा इरानमा रहेको आणविक जोखिम अन्त्य गर्ने विषयमा सहमति बनेको छ।
ट्रम्पको यो अभिव्यक्ति अमेरिकी सञ्चारमाध्यमहरूले सप्ताहन्तमा अमेरिकाले इरानमाथि थप तीव्र सैन्य आक्रमणको तयारी गरिरहेको खबर सार्वजनिक गरेलगत्तै आएको हो। यसअघि शनिबार इरानले अमेरिका क्षेत्रीय तनाव बढाइरहेको आरोप लगाउँदै वासिङ्टनसँग सहकार्य गर्ने कुनै पनि देश ‘युद्धको आगोमा होमिने’ चेतावनी दिएको थियो।
यता अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सुरक्षा अवस्था थप बिग्रिन सक्ने भन्दै सतर्क रहन र आवश्यक परे तत्काल त्यहाँबाट बाहिरिन तयार रहन आग्रह गर्दै एडभाइजरी जारी गरेको थियो।
यसअघि अमेरिकी सञ्चारमाध्यमले विभिन्न स्रोतलाई उद्धृत गर्दै अमेरिका र इजरायलले इरानका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै अहिलेसम्मकै सबैभन्दा कडा बमबारी अभियान सञ्चालन गर्ने तयारी गरिरहेको जनाएका थिए।
एक्सियोसको रिपोर्टअनुसार यसअघि साउदी अरबका युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोनमा कुरा गर्दै इरानमाथिको सम्भावित ठूलो सैन्य आक्रमण रोक्न र संयम अपनाउन आग्रह गरेका थिए।
अमेरिकी चेतावनीका बीच इरानका विदेशमन्त्री अब्बास अराघचीले तेहरान कुनै पनि अमेरिकी सैन्य आक्रमणको जवाफ दिन पूर्ण रूपमा तयार रहेको बताए। उनले पाकिस्तान र टर्कीका नेताहरूसँगको टेलिफोन वार्तामा पनि यही सन्देश दोहोर्याएका छन्।














