Logo
Logo

तनावपछि तराईमा २ हजार बढी सुरक्षाकर्मी परिचालन, ४ एआईजीसहित उच्च अधिकारी फिल्डमा


0
Shares

काठमाडौँ। सुनसरी घटनाका कारण तराई-मधेशमा तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन थप २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले तराईका जिल्लाहरूमा थप जनशक्ति खटाएका हुन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले करिब १ हजारभन्दा बढी प्रहरीलाई तराई–मधेश केन्द्रित गरिएको जानकारी दिए।

शान्ति सुरक्षा कडा बनाउन नेपाल प्रहरीका चार जना एआईजीहरू सिद्धीविक्रम शाह (बाँके), हिमालयकुमार श्रेष्ठ (मधेश प्रदेश), उमाप्रसाद चतुर्वेदी (कपिलवस्तु) र ईश्वर कार्की (कोशी प्रदेश र सुनसरी) फिल्डमै खटिएका छन्। त्यस्तै, डीआईजी दिनेशकुमार आचार्य सिरहा र डीआईजी अबिनारायण काफ्ले सप्तरीमा खटिएका छन्।

यसैगरी, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूलाई पनि विभिन्न जिल्लाको जिम्मेवारी दिएर खटाइएको छ। जसमा एसएसपी गोपालचन्द्र भट्टराई (सर्लाही), सोमेन्द्रसिंह राठौर (पर्सा), दीपशम्शेर जबरा (रौतहट), नवराज अधिकारी (चितवन), कृष्णप्रसाद पंगेनी (महोत्तरी), होबिन्द्र बोगटी (बारा), ज्ञानेन्द्रप्रसाद फुयाँल (मोरङ), भुवनेश्वर तिवारी (धनुषा) र अमरेन्द्रबहादुर सिंह (मधेश प्रदेश) रहेका छन्।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीका अनुसार सशस्त्र प्रहरीका तर्फबाट पनि थप १ हजारभन्दा बढी सुरक्षाकर्मी तराई झारिएको छ। एआईजी गणेश ठाडामगरसहितको टोली पनि फिल्डमै खटिएको छ।

तनावपूर्ण अवस्था शान्त पार्न र सम्भावित अप्रिय घटनाहरू रोक्न उच्च अधिकारीहरूसहितको टोली फिल्डमा उत्रिएको हो। संकट समाधानका लागि प्रहरीका विभिन्न विभाग र क्षेत्रमा कार्यरत जनशक्तिलाई तराई–मधेशमा केन्द्रित गरिएको छ। विशेष गरी मोरङ, सुनसरी, सिरहा, धनुषा लगायतका जिल्लाहरूमा थप तनाव हुन नदिन उच्च सतर्कता अपनाइएको छ। उच्च अधिकृतहरूलाई स्रोत-साधनको प्रभावकारी परिचालन, मूल्यांकन, सुरक्षा कार्ययोजना निर्माण, सूचना संकलन तथा विश्लेषणको जिम्मेवारी दिइएको छ।

यसैबीच, गृहमन्त्री सुधन गुरुङ आफैँ पनि अहिले तराईमै छन्। हाल तराईको स्थिति बिस्तारै सामान्य र शान्त बन्दै गएको प्रहरी प्रवक्ता काफ्लेले बताएका छन्। कोशी प्रदेशका डीआईजी शेखर खनालले पनि विगतका दिनको तुलनामा आज स्थिति धेरै शान्तिपूर्ण रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्