Logo
Logo

सोमबारदेखि इरानसँग वार्ता सुरु हुने ट्रम्पको दाबी


0
Shares

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सोमबारदेखि नयाँ चरणको वार्ता सुरु हुने दाबी गरेका छन्।

इरानमाथि गर्ने भनिएको ठूलो सैन्य आक्रमण अन्तिम समयमा स्थगित गरेपछि ट्रम्पको यो अभिव्यक्ति आएको हो।

आइतबार एयरफोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले वार्ता सोमबार दिउँसो सुरु हुने बताए। उनले भने, उनीहरूले आक्रमणको तयारी भइरहेको देखेका थिए, त्यसैले यसको परिमाणबारे उनीहरूलाई थाहा थियो। हामी अहिले वार्ताको माध्यमबाट संवाद गर्दैछौँ। यो भोलि दिउँसो (सोमबार) सुरु हुनेछ।

यसअघि ट्रुथ सोसलमा गरेको पोस्टमा ट्रम्पले इरान तथा मध्यपूर्वका अमेरिकी सहयोगी राष्ट्रहरूले आफूलाई आक्रमण रोक्न आग्रह गरेको दाबी गर्दै सम्झौताका मुख्य रूपरेखातय भइसकेको बताएका थिए।

हामी पूर्ण रूपमा तयार थियौँ। तर उनीहरूले सम्झौताको सम्भावना देखेर आक्रमण रोक्न आग्रह गरे। होर्मुजसम्बन्धी सम्झौता हुनेछ र आणविक विषयमा पनि सम्झौता हुनेछ, उनले भने।

ट्रम्पले सम्भावित सम्झौता स्ट्रेट अफ होर्मुज र इरानको आणविक कार्यक्रमसँग सम्बन्धित हुने बताएका छन्। यद्यपि वार्ता कहाँ हुने र त्यसमा को–को सहभागी हुने भन्नेबारे उनले खुलाएका छैनन्।

तर इरानले भने ट्रम्पको दाबी अस्वीकार गरेको छ। इरानको विदेश मन्त्रालयले अमेरिकासँग प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको स्पष्ट पारेको छ भने इरानी सञ्चारमाध्यमहरूले पनि तेहरानले अमेरिका समक्ष आक्रमण रोक्न आग्रह गरेको भन्ने दाबी सत्य नभएको बताएका छन्।

वार्ताको खबर सार्वजनिक भएसँगै एसियाली बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्