Logo
Logo

फिफामा अमेरिकी दबदबा र नियममाथि ट्रम्पको हस्तक्षेप


0
Shares


काठमाडौँ । विश्वकप फुटबल इतिहासमा डियगो म्याराडोनाले सन् १९८६ विश्वकप क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध हातले गरेको गोल सबैभन्दा विवादास्पद मानिन्छ । यो गोल यति चर्चामा छ कि यसको विवाद छोप्न ‘ह्यान्ड अफ गड’ नामाकरण गरियो । गोलकर्ता म्याराडोनाले नै हातले गोल गरेको स्वीकार गरी ईश्वरको हातले गोल गरेको भनिदिए । विवाद छोप्न शब्दजाल नै बनाइयो ‘ह्याण्ड अफ गड’ । अर्जेन्टिनाले फल्कल्यान्ड टापुमाथि इंग्ल्यान्डले गरेको आधिपत्यको विरोध गर्दा खेललाई प्रयोग गरेको थियो त्यतिबेला ।

सन् २०२६ को विश्वकपमा पनि इंग्ल्यान्डविरुद्धको खेलमा फल्कल्यान्ड टापुको मुद्दालाई खेल स्थलमै उठायो मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले । विश्व राजनीतिमा खेललाई राष्ट्रियता, राष्ट्रिय गौरव र विरोधी देशसँगको वैमनश्यतालाई प्रकट गर्ने शैली समेत बनाइने क्रम बढेको छ । खेल संस्थाहरुले खेलमा राजनीति प्रतिशोध देखि नश्लविरोधी गतिविधि प्रकट हुन नदिन कडा नियमहरु बनाएको छ । तर, त्यस्ता नियमहरुको ठाडै उल्लंघन गरिएका घटनाहरु धेरै छन् ।

अमेरिका सन् १९९४ मा विश्वकप फुटबलको आयोजना गरेको ३२ वर्षपछि विश्वकपको सहआयोजक बन्यो । यो विश्वकप मेक्सिको र क्यानडासहित अमेरिकाले आयोजना गर्ने मौका पाउनुमा डोनाल्ड ट्रम्पको रणनीतिक चार्तुयता नै थियो त्यतिबेला । सन् २०१८ मा आयोजक देशहरुबारे निर्णय हुँदा ट्रम्प अमेरिकाको राष्ट्रपति थिए ।

उनले मोरक्कोको विश्वकप आयोजक बन्ने प्रतिष्पर्धालाई कमजोर पार्न अमेरिकी संयन्त्रहरुको भरपूर प्रयोग गरेका थिए । संयोग नै मान्नुपर्छ ट्रम्प दोस्रो कार्यकालका लागि भएको राष्ट्रपति चुनावमा पराजित भई अर्को प्रयासमा जितेर विश्वकप आयोजक बन्दा अमेरिकाको नेतृत्वमा रहे । उनले फिफा विश्वकप २०२६ मा यति धेरै विवादास्पद कार्यहरु गरे कि खेलका धेरै नियमहरु मिचिए । उनको यस्तो कार्यशैलीले अमेरिकाकै मित्रशक्तिहरुले खुलेर विरोध गरे ।

विश्वकप २०२६ लाई खेलभन्दा व्यापारमा रुपान्तरण गरे ट्रम्पले । यसका लागि उनले फिफा अध्यक्ष जियानी इन्फान्टियोलाई प्रभावमा पारे । खेलको ४५ मिनेटपछि मध्यान्तर १५ मिनेटको हुनेमा पहिलो हाफको बीचमा ‘रिफ्रेसमेन्ट’ समय राख्न थालियो । दोस्रो हाफको बीचमा पनि त्यस्तै ‘रिफ्रेसमेन्ट’ राख्न थालियो । त्यस्तो समयमा विज्ञापनबाट ठूलो आम्दानी गर्ने रणनीति बनाइएको थियो । विश्वकप फुटबल खेल कम व्यापार बढी हुन थाल्यो ।

टेलिभिजन र सामाजिक सञ्जालमा हेर्नका लागि महँगो मूल्य तोकेर करोडौं डलरमा खेल प्रसारणको अनुमति लिए कम्पनीहरुले । यसबाट नेपाली दर्शक पनि प्रभावित भएर महँगो पैसा तिरेर हेर्न बाध्य भए । विश्वकप हेर्न महँगो टिकट काटेर अमेरिका पुगेका नेपालीहरु खेलमा कतिसम्म सौखिन छन् भन्ने यस घटनाले देखायो । कुलिनदेखि गरिबहरुको समेत खेल बनेको फुटबलको परिचय नै बदलिने गरी व्यापारीकरण भयो ।

यतिसम्मकी विश्वकप फुटबल सकिनेवित्तिकै फिफा अध्यक्ष इन्फान्टियोले विश्वकप नै बेच्ने गरी निर्णय गरे । विश्वकपमा व्यापारीहरुको सिधा प्रवेश गराए । यसको सर्वत्र आलोचना मात्र भएन यूरोपेली र एशियाली फुटबल संघहरुले कडा कदम चाले । इन्फान्टियो आफ्नो निर्णयबाट त पछि हटे तर उनको पद नै धरापमा परेको छ अहिले ।

विश्वकप फुटबलमा ट्रम्प र इन्फान्टियोका साँठगाँठबाट भएका विवादास्पद कदमहरु छताछुल्ल हुन थाल्यो । अमेरिकाले बोस्निया हर्जगोभनियासँगको अन्तिम ३२ को खेलमा रातो कार्ड खाएका फोलारिन बालोगुनलाई अन्तिम १६ मा खेलाउन नपाउने नियमविपरित खेल्ने अवस्था बनायो । यसका लागि ट्रम्पले फिफा अध्यक्ष इन्फान्टियोलाई सिधा फोन गरेर दबाब दिए ।

बालोगुनमाथिको एक खेल प्रतिबन्ध हटाएपछि बेल्जियमविरुद्धको खेलमा देखापरे । यसको सर्वत्र आलोचना भयो । ट्रम्पले फाइनलमा विजेता स्पेनलाई विश्वकप वितरण गरेपछि आफ्नो स्थानमा फर्किइहाल्नुपर्नेमा विजेता देशका खेलाडीसँग तस्बिर खिचाउन पुगे ।

विश्व व्यवस्थामा परिवर्तन
विश्वकप फुटबलका दौरान र त्यसपछि अमेरिकाको आफ्ना मित्रशक्तिसँगको समस्याहरु प्रकट रुपमा आए । ट्रम्पको फिफामाथिको दबाब र अत्याधिक व्यवासायीकरणको विरोध गरे अमेरिकाका मित्रशक्तिले । फिफा अध्यक्ष इन्फान्टियोलाई ट्रम्पले कठपुतली बनाउन खोजेको घटना र विश्वकप नै बेच्न खोज्ने कदमको यूरोपेली देशहरुले विरोध गरे । विश्वकपमा २० अर्ब डलरको निजी क्षेत्रको लगानीको विषयले सामान्य मानिसको पहुँचभन्दा टाढा फुटबललाई पु¥याउने प्रश्न उठ्यो ।

विश्वकप फुटबल सन् २०२६ नै इतिहासमै सबैभन्दा बढी राजनीतिकरण गरिएको घटना बन्यो । जबकि ओलम्पिकका संस्थापक पियरे दी कुवर्तीनले खेल अवधिभर युद्ध र राजनीतिक हस्तक्षेपहरु बन्द गर्न आव्हान गर्दथे । तर, खेलका बीच पनि अमेरिकाले इरानमाथिको हमला रोकेन । मध्यपूर्वमा समस्या भइरह्यो । इजिप्टका प्रशिक्षकले प्यालेस्टाइनको मुद्दा उचाले खेलका दौरान । ट्रम्पको इरान नीति खेलाडीमाथि पनि लादियो ।

इरानका खेलाडीलाई खेल सकिएपछि देश छाडिहाल्ने वाध्यता बनाइएको थियो । अमेरिकाले इरानमाथि हमला गर्दा पनि आयोजकको अधिकार खोसिएन जबकि, युक्रेनमाथि हमला गरेको रुस फिफा, ओलम्पिक कमिटीलगायतका संघसंस्थाबाट निलम्बनमा परेर खेल्न पाइरहेको छैन ।

अमेरिकाले अर्को देशमा अक्रमणका बाबजुद विश्वकप आयोजना कसैले खोस्न नसकेको घटनाबाट आफू विश्व महाशक्ति नै रहेको सन्देश दिन खोज्यो । फिफामाथि प्रभाव र दबाबको सन्देश पनि दिए ट्रम्पले । अमेरिकाले चाहेमा खेलको नियम पनि बदल्न सक्छ भन्ने सन्देश दिनेगरी गतिविधि देखाए । अमेरिकाले विश्वकपबाट आफ्नो नरम शक्ति अर्थात् सफ्ट पावरको सामथ्र्य पनि देखायो ।

अमेरिकी भीसामा कडाइले विश्वका धेरै देशका दर्शकहरु प्रत्यक्ष खेल हेर्नबाट वञ्चित पारिए । कतिपय खेलाडीलाई भीसा नै दिएनन् अमेरिका र क्यानडाले । इरानका खेलाडीमाथि त इतिहासमै नभएको कडाई भयो । जसका कारण खेल्नेवित्तिकै खेलस्थल छाडेर मेक्सिको जानुपर्दा थकानमा पर्दथे । सोमालियाका रेफ्री ओमार आरटान विश्वकप खेलाउने सूचीमाथि थिए । तर, उनले अमेरिकाको भीसा पाएनन् । यस घटनामा अफ्रिकी देशहरुमा अमेरिका विरोधी माहोल विकास हुनपुग्यो ।

३२ टिमले प्रतिष्पर्धा गर्ने विश्वकप यसपटकबाट ४८ देशमा पु¥याइयो । विकासको गति लिइरहेका कतिपय देशहरुले आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न पनि यसको माग गरिरहेका थिए । अब विश्वकपमा ६४ देशको सहभागिताको विषय उठिरहेको छ । उदीयमान क्षेत्रहरु एशिया र अफ्रिकाले आफ्नो अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्न दबाब बढाइरहेका छन् । फुटबल जगतमा सबैभन्दा बढी प्रभाव बनाइआएको यूरोपको फुटबल संघ युएफा र फिफाबीचको द्वन्द्व सतहमै प्रकट भयो ।

शक्तिको केन्द्र सर्दै
फुटबलले कुनैपनि देशको शक्ति बढाउन भूमिका खेल्छ भन्ने विश्वकपले देखायो । त्यसैले कुनैबेला यूरोप र दक्षिण अमेरिकामा बढी केन्द्रित फुटबलमा अमेरिकाले भारी लगानी गर्न थाल्यो । उत्तर अमेरिकी देशहरु मेक्सिको, क्यानडालगायतले पनि भारी लगानी बढाए । मेस्सी ठूलो आम्दानीको आकर्षणले अमेरिकी क्लबमा आवद्ध भए ।

एशियाली देश चीनले पनि फुटबलमा ठूलो लगानी गर्दै आएको छ । खाडीको साउदी अरब र कतारले पनि अरबौं डलरको लगानी गरेका छन् । रोनाल्डो अरबौं डलरको आम्दानीका कारण साउदी क्लबमा खेल्न पुगे ।

युरोप फुटबलको केन्द्र बन्दै आएको छ अहिलेसम्म । विश्व प्रशिद्ध खेलाडीहरु बेलायत, स्पेन, जर्मनी, फ्रान्स, इटाली जस्ता क्लबहरुबाट ठूलो धनराशी पाएर खेलिरहेका छन् । उत्तर अमेरिका र एशियामा फुटबलमा भइरहेको भारी लगानीले यूरोप अझै फुटबलको केन्द्र बनिरहन्छ ? यो प्रश्न तेर्सिएको छ । जसरी विश्व शक्ति बढी यूरोपमा केन्द्रित छ त्यसरी नै फुटबल यूरोपमै केन्दिैत होला ?

बहुध्रुवीय विश्व व्यवस्था, जनसंख्यामा आएको परिवर्तन, तिव्र बसाईसराई, प्रविधिको द्रुत विकाससँगै आर्टिफिसियल इन्टेलिजेन्सको उदय, आर्थिक महत्वाकांक्षासँगै विश्वव्यापी बढ्दो भूराजनीतिक प्रतिष्पर्धाले विश्व परिवेशलाई नयाँ आकार दिइरहेको छ ।

यस्तो परिस्थितिमा विश्वकप फुटबलका दौरान भूराजनीतिक प्रतिष्पर्धाका प्रतिबिम्बहरु देख्न र महशुश गर्न सकियो । अरबौं मानिसहरुले हेर्ने फुटबलको महाकुम्भका दौरान भएका आर्थिक र राजनीतिक घटनाक्रमहरुको असर त्यसपछि झन् देखिन थालेको छ । विगतमा अमेरिकाले चाल्ने कदमहरुमा कमैमात्र प्रश्न उठाइन्थ्यो र चुनौती त सायदै पर्दथ्यो ।

अहिले अमेरिकाले चालेका कदमहरुमा कडा प्रश्न मात्र उठ्न थालेन कडा चुनौतीसमेत देखापर्न थाल्यो । विश्व व्यवस्थामा आएको परिवर्तनको प्रतिबिम्ब पनि हो यो । युक्रेन युद्ध, खाडी युद्ध हुँदै ट्रम्पको टारिफ युद्धले अमेरिकालाई चुनौतीको पहाडमुनि पु¥याइदिएको छ । त्यसलाई पार लगाउन उसलाई सजिलो छैन । अर्कोतर्फ, एकलौटी विश्व शक्ति र अर्थतन्त्रको केन्द्र बन्दै आएको युरोप संकटमाथि संकटको सामना गर्दै आइरहेको छ । यसले विश्व शक्ति र अर्थतन्त्रको केन्द्र अन्यत्र पनि सर्दै गइरहेको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्