Logo
Logo

थलिएका राष्ट्रिय उद्योग र संस्थानहरूमा सुधारको सङ्केत देखिन थालेको प्रधानमन्त्रीको दाबी


315
Shares

काठमाडौँ । वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र थप्प बनेका राष्ट्रिय उद्योग तथा सार्वजनिक संस्थानहरूमा सुधारका आशालाग्दा नतिजा देखिन थालेको प्रधानमन्त्री बालेन्द्र शाहले दाबी गरेका छन्।

नियत सफा राखेर इमान्दारिताका साथ काम गर्दा चुनौतीपूर्ण परिस्थितिमा पनि सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गर्दै उनले सरकारको निरन्तर सहजीकरण, उत्प्रेरणा र टिमवर्कका कारण विभिन्न सार्वजनिक निकायहरूमा सुधार आएको बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार पछिल्लो समय सरकारी स्वामित्वका उद्योग तथा संस्थानहरूले वित्तीय तथा उत्पादनगत रूपमा गति लिन थालेका छन्।

लामो समयदेखि थलिएको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गर्नुका साथै विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरी गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा कमाएको छ।

चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखेको लिमिटेडले आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने योजना बनाएको छ। यस्तै, बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको तान (लुम) मर्मत गरी नेपाली सेनामार्फत परीक्षण उत्पादन सुरु भइसकेको छ।

यसैगरी, नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोडभन्दा बढी आम्दानी वृद्धि गर्दै ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। सो अवधिमा निगमको सीट अकुपेन्सी ८६ प्रतिशत पुगेको छ भने जहाज खरिदको ऋणबापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरिएको छ।

दुग्ध विकास संस्थान (डीडीसी) तर्फ किसानको रोकिएको बक्यौता भुक्तानी चक्र ८ महिनाबाट घटाएर २ ३ महिनामा झारिएको छ भने किसानलाई प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ। कर्मचारीलाई दिइँदै आएको गैरकानुनी सुविधा कटौती गरी वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको छ भने संस्थानको दैनिक राजस्व संकलन ६० लाखबाट बढेर ९० लाख रुपैयाँ पुगेको छ। डीडीसीले खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यातको तयारीसमेत अघि बढाएको छ।

उता सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएयता ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको छ। गत आर्थिक वर्षमा वैद्यखानाको कारोबार अघिल्लो वर्षको तुलनामा चार गुणाले बढेर करिब १३ करोड रुपैयाँ पुगेको छ।

हाल १०५ प्रकारका औषधि उत्पादन गरिरहेको वैद्यखानालाई चालु आर्थिक वर्षभित्र १५० प्रकारका औषधि उत्पादन गर्ने र जीएमपी मापदण्ड हासिल गर्ने लक्ष्य राखिएको छ। प्रधानमन्त्री शाहले इमान्दारिता र समर्पण कायम राखेमा अन्य रुग्ण उद्योगहरूलाई पनि पुनर्जीवन दिन सकिने विश्वास व्यक्त गर्दै देशलाई आत्मनिर्भर बनाउने यात्रामा सबै क्षेत्रबाट रचनात्मक सहयोग र विश्वासको अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्