Logo
Logo

नाइमा एक्स्पोमा टाटाका नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक


378
Shares

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक गरेको छ । कम्पनीले नयाँ पञ्च ईभी र टियागो ईभी नेपाली बजारमा सार्वजनिक गरेको हो ।

नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले विशेष अफरअन्तर्गत पञ्च ईभी ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एक्स्पोमा यी दुवैमध्ये कुनै पनि गाडी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराउने जनाएको छ ।

गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताए । नयाँ पञ्च ईभी र टियागो ईभीको सार्वजनिकले कम्पनीको विद्युतीय सवारीप्रतिको प्रतिबद्धता थप पुष्टि गरेको उनको भनाइ छ ।

उनका अनुसार दुवै विद्युतीय गाडी फरक–फरक ग्राहकको आवश्यकता र प्रयोगलाई ध्यानमा राखेर विकास गरिएका छन् ।

सिप्रदीले विद्युतीय सवारीसाधनको बिक्रीसँगै आवश्यक पूर्वाधार विस्तारमा पनि जोड दिइरहेको जनाएको छ । सिप्रदी ट्रेडिङका चीफ अपरेटिङ अफिसर राजेशप्रसाद गिरीले ईभी बिक्रीमा मात्र कम्पनीको प्रतिबद्धता सीमित नभएको बताए ।

उनका अनुसार हाल सिप्रदीले २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालन गरिरहेको छ । ईभी प्रयोगलाई ग्राहकका लागि सहज र भरपर्दो बनाउन चार्जिङ तथा सर्भिस पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको उनले बताए ।

पञ्च ईभीमा दुई ब्याट्री विकल्प
नयाँ पञ्च ईभी अत्याधुनिक ‘एक्ट डट ईभी’ प्लेटफर्ममा आधारित छ । यसमा ३२ किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन् ।

कम्पनीका अनुसार नेपालको सडकमा गरिएको परीक्षणका आधारमा यी ब्याट्रीले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छन् ।

पञ्च ईभीमा १९५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ । सुरक्षातर्फ बीएनसीएपीबाट ५–स्टार सुरक्षा रेटिङ प्राप्त यो गाडीमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा तथा फास्ट चार्जिङ सुविधा उपलब्ध छन् ।

त्यस्तै, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट सिस्टम तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस पनि पञ्च ईभीका प्रमुख विशेषता हुन् ।

टियागो ईभीमा सुरक्षा र प्रविधिमा जोड
दैनिक आवतजावतलाई लक्षित गर्दै नयाँ टियागो ईभी सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ डिजाइन र आकर्षक रङ विकल्पसहित आएको टियागो ईभीमा ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम र ६ वटा एयरब्याग उपलब्ध छन् ।

कम्पनीले नयाँ पञ्च ईभी र टियागो ईभीमार्फत नेपाली बजारमा विद्युतीय सवारीसाधनको विकल्प थप फराकिलो बनाउने अपेक्षा गरेको छ । एक्स्पो अवधिमा ग्राहकले दुवै मोडल प्रत्यक्ष अवलोकन गर्नुका साथै बुकिङसमेत गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्