
संगीतकार स्वर्गीय ठुलुङ राईको संगीत र आफ्नै शब्दमा ‘जब बिहान आँखा खुल्छ’ बोलको गीत गाएर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी विनुशा राईले हालसम्म डेढ दर्जन भन्दा बढी गीत गाइसकेकी छिन् । सामाजिक सञ्जाल र टिकटकमा खासै सक्रिय नभए पनि उनले आफ्नो सांगीतिक यात्रलाई भने निरन्तरता दिँदै आएकी छिन् । सार्वजनिक चर्चामा आउन नरुचाउने बिनुसाले यही सांगीतिक क्षेत्रमा आफनो भविष्य खोजिरहेकी छिन् । उनै गायिका बिनुसा राईसँग रेजिना पाण्डेको जम्काभेटः
दर्जनौं गित गाउँदा पनि तपाई किन ओझलमा पर्नुभयो ?
हो म यसको लागि म आफैंलाई अभागी नै मान्छु । जति चल्नुपर्ने हो त्यति चर्चा भने हुन सकेन । यसमा मेरो आफ्नै कमजोरी पनि होला । आजको बदलिँदो समयमा म चर्चामा आउन अलि कम नै रुचाउँछु । सामाजिक सञ्जालमा त्यति सक्रिय हुन नसक्दा पनि पछि परेकी हुँ । मलाई भाइरल हुन त्यति मन नलाग्ने भएर पनि अलि ओझेलमा परे कि ?
सामाजिक सञ्जालको युगमा पनि तपाईँलाई किन त्यसमा सक्रिय हुन मन लागेन ?
मान्छेको आफ्नो आफ्नो सोच हुन्छ । मलाई त्यति भाईरल हुन मन लाग्दैन । तैपनि आज यो निकै आवश्यक पनि रहेछ । आफ्नै गीतको प्रमोशन गर्न पनि टिकटक रिलहरु बनाउनै पर्दोरहेछ । यी सबै मैलै गर्न नसक्दा नै म पछि परेजस्तो लाग्छ । अव चाहिँ बिस्तारै सामाजिक सञ्जालमा सक्रिय हुने सोच बनाएकी छु । अहिले सामजिक सञ्जाल धैरैका लागि राम्रो प्लेटफम बनेको छ । अहिले थाहा पाएर म छक्क परेको छु ।
तपार्इँ कस्तो खालको गीत गाउन मन पराउँनुहुन्छ ?
आधुनिक, लोक र पूर्वेली गीत मनपर्छ । अहिले त चलचित्रमा पनि गाउने अवसर आइरहेको छ । यो भन्ने नै छैन । अवसर आयो भने सबै खालको गाना गाउँछु ।
अहिले धैरै युवाहरूको सांगीतिक क्षेत्रमा रुचि बढ्दै गएको छ नि हैन ?
मान्छेको आआफनो रोजाइ हो । अहिले सांगीतिक क्षेत्र पहिलेभन्दा निकै मौलाउँदै गएको छ । नाम दाम दुबै कमाउने क्षेत्र पनि भएको छ । सबैले चिनिने अवसर पनि पाएका छन् । मलाई अहिले युवाहरु यस क्षेत्रप्रति निकै आकर्षित भएको जस्तो लाग्छ ।
अहिले सांगीतिक क्षेत्रमा प्रतिस्पर्धा चाहिँ कस्तो छ ?
यो क्षेत्रमा भाग्य नै लिएर आउनुपर्छ । यसमा कडा प्रतिस्पर्धा नै छ । बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भने जस्तै हो । कतिले जति मिहेनत गरे पनि अवसर नै पाउँदैनन्, कत्तिको एउटा गीत गाएपछि भाग्य खुल्छ । सायद, भाइरलको जमाना भएर पनि होला, जति भाइरल भयो त्यति नै चल्छ ।
सांगीतिक क्षेत्रका लागि खोटाङदेखि काठमाडौंसम्मको यात्रा कस्तो रह्यो ?
हो मेरो जन्म र अध्ययन सबै खोटाङमै भयो । थप अध्ययन र सांगीतिक यात्रालाई निरन्तरता दिन नै काठमाडौं आएकी हुँ ।
काठमाडौं आएर सांगीतिक क्षेत्रमा लाग्न कति संघर्ष गर्नुभयो ?
बिना सर्घष त केही काम नै हँुदैन । मिहेनत गर्नुपर्छ । मैले अध्ययनसँगै सांगीतिक कर्मलाई पनि निरन्तरता दिइरहेको छु । मलाई सांगीतिक ज्ञान हासिल गर्ने अवसर काठमाडौले नै दियो । खोटाङमै भएको भए यस्तो अवसर पाउने थिइन ।
आजभोलि रेकर्डिङमा चाहिँ कत्तिको व्यस्त हुनुहुन्छ ?
खाली बस्नु परेको छैन । काम आइरहेकै छन् । कहिले दिनमै दुई वटासम्म रेकर्ड गर्छु, कहिले भने हुँदैन ।
तपाईँलाई सांगीतिक क्षेत्रप्रति रुचि चाहिँ कसरी जाग्यो नि ?
मलाई बाल्यकालदेखि नै संगीतमा रुचि थियो । अन्जु पन्त, राजेश पायल राई, प्रविशा अधिकारीको गीत सुन्दै हुर्किए । यसप्रति रुचि जाग्दै गएपछि सांगीतिक ट्रेनिङ लिए । सांगीतिक कार्यक्रम लिएर विभिन्न विद्यालयमा पनि जान थाले । खोटाङमा हुने महोत्सवमा सभागी हुने गर्दथे । यसरी नै मेरो सांगीतिक यात्रा सुरु भएको हो ।
सांगीतिक क्षेत्रमा आम्दानी चाहिँ कस्तो छ ?
राम्रै छ, काठमाडौंमा खान बस्न र अन्य खर्च गर्न पुगेकै छ । अहिले यसमै सन्तुष्ट छु ।
फुर्सदमा के गर्नुहुन्छ ?
खासै फुसर्द नै हुँदैन, भईहाल्यो भने पनि गीत संगीत सुन्दै घरकै काम गर्छु । मलाई गायिका मेलिना राई, प्रताप दास, सुनिता येगिङका गीतहरु मन पर्छ । यिनै गीत संगीत सुनेर समय बिताउँछु ।
भविष्यको योजना के बनाउनुभएको छ ?
यही सांगीतिक क्षेत्रमा हात हालेको छु । यो बाहेक अरु केही सोचेको पनि छैन । यसलाई नै निरन्तता दिने सोच छ । भगवानको आशिर्वाद रह्यो भने राम्राराम्रा गायक र संगीतकारसँग गित गाउने रहर छ । हेरांै भविष्यले कहाँसम्म पु¥याउँछ ।












