Logo
Logo

बीवाईडी र एनसेलबीच साझेदारी: नेपालमा बिक्री हुने बीवाईडी गाडीमा अब एनसेलको आईओटी सिम


441
Shares

काठमाडौँ । नेपालमा सवारी साधनलाई डिजिटल्ली कनेक्टेड बनाउने उद्देश्यका साथ एनसेल र बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्कबीच साझेदारी भएको छ। यस सहकार्यअनुसार नेपालमा बिक्री हुने बीवाईडीका प्रत्येक सवारी साधनमा अब एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडित हुनेछ, जसले ग्राहकहरूलाई थप सहज र आधुनिक ड्राइभिङ अनुभव प्रदान गर्नेछ।

गाडीमै आईओटी सिम जडान भएपछि कुनै अतिरिक्त उपकरण वा बाह्य वाई-फाई हटस्पट र मोबाइल फोनको निर्भरताबिनै सवारी साधनभित्रै इन्टरनेट कनेक्टिभिटी उपलब्ध हुनेछ। यसबाट प्रयोगकर्ताहरूले बीवाईडीको इन्फोटेनमेन्ट सिस्टममार्फत सोझै युट्युब, स्पोटिफाइ, काराओके जस्ता अनलाइन मनोरञ्जन सेवाका साथै बीवाईडी एप इकोसिस्टम र भरपर्दो नेभिगेसन सुविधा उपभोग गर्न सक्नेछन्।

यो सुविधा बीवाईडीका नयाँ ग्राहकका लागि मात्र नभई पुराना ग्राहकका लागि पनि उपलब्ध गराइएको छ। पुराना सवारी साधन धनीहरूले नेपालभर रहेका बीवाईडीका १३ वटा आधिकारिक सर्भिस सेन्टरमा पुगेर एनसेलको आईओटी सिम जडान गरी सेवा सुरु गर्न सक्नेछन्।

साझेदारी सम्झौताका क्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले आईओटी प्रविधिको प्रयोगले बीवाईडीका गाडीहरूमा स्मार्ट कनेक्टिभिटी, सुरक्षा र इन्टेलिजेन्ट मोबिलिटीको सुविधा थपिने बताए। यस्तै, साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले एनसेलसँगको सहकार्यले बीवाईडीका ग्राहकलाई सवारी साधनका आधुनिक र इन्टेलिजेन्ट सुविधाहरूको पूर्ण रूपमा अनुभव गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

ग्राहकका लागि आवश्यक पर्ने कनेक्टिभिटी प्लान, समयसीमा र शुल्कको विवरण भने सवारी साधनको मोडल तथा सेवा प्याकेज अनुसार तोकिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्