धनगढी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन्। प्रदेशसभा सचिवालयका अनुसार सभामुख भीमबहादुर भण्डारीले संविधानको धारा १८० को खण्ड (घ)बमोजिम मंगलबार देउवालाई पदमुक्त गर्ने निर्णय गरेका हुन्। सभामुखको निर्णयबारे प्रदेशसभा सचिवालयकी सूचना अधिकारी ताराकुमारी जोशीले जानकारी दिएकी छन्।

प्रदेशसभा बैठकमा कुनै जानकारी वा स्वीकृति नलिई लगातार अनुपस्थित भएपछि देउवालाई पदमुक्त गर्ने निर्णय गरिएको सचिवालयले जनाएको छ। सभामुख भण्डारीले देउवा पदमुक्त भएको औपचारिक जानकारी बुधबार प्रदेशसभाको बैठकमा गराउनेछन्।
सचिवालयका अनुसार देउवा विगत ११ महिनादेखि अमेरिकामा रहेका छन्। उनी लगातार २७ वटा प्रदेशसभा बैठकमा अनुपस्थित भएका थिए।
नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेशसभाका कुनै सदस्य सम्बन्धित सभाको स्वीकृति नलिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा निजको प्रदेशसभा सदस्य पद रिक्त हुने व्यवस्था छ। यसै संवैधानिक व्यवस्थाअनुसार देउवाको पद रिक्त भएको हो।












