काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको राजीनामा मागेका छन् । विभिन्न मुद्दा र अदालतका फैसलाहरू उल्लेख गर्दै उनले तिनमा राईको विषय जोडिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले पदमा बसिरहने नैतिकता छ वा छैन भनेर राईलाई प्रश्न गरेका हुन् । राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार प्रमुख राईसहितका अधिकारीहरू उपस्थित छन् । सांसद न्यौपानेले वाइडबडी विमान खरिद प्रक्रियाको प्रारम्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव तथा सञ्चालक समितिका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा २०७३/१/२ मा बसेको निगम सञ्चालन समितिको बैठकबाट नै निगमको आर्थिक नियमावली २०६३ को विनियम २६३ (१) (क) बमोजिम व्यवस्थापनबाट अध्ययन गरी निगमका लागि दुईवटा वाइडबडी विमानहरू खरिद गर्ने सम्बन्धमा प्रस्तुत प्रस्ताव अनुसार खरिद कार्य अघि बढाइएकोबारे अदालतको फैसलामा उल्लेख भएको बताए ।
यो मुद्दामा केहीको नाम रहेको र प्रेमकुमार राईको नाम पनि रहेको भन्दै उनले प्रतिवादी नबनाइएको आधारले अदालतले के भन्छ भन्दै प्रश्न गरेका हुन् । उनले भने, ‘उक्त खरिद प्रक्रियामा सामेल रहेका केही पदाधिकारीको हकमा पनि आरोप दाबी लिएको देखिन आउँदैन । यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने, कसैलाई अभियोजन गर्ने कार्य चयनमुखी दृष्टिकोण अवलम्बन गरेको देखिन्छ । चयनमुखी अभियोजनमा अभियोजन गर्नु समान न्यायको सिद्धान्तविपरीत हुन्छ, समानताको हकविपरीत हुन्छ, प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ।’
उनले यस्तो कामले कानुन सबैलाई बराबर हो भन्ने भावनामा आघात पुर्याउने बताए । ‘निगमको नियमावलीमा भएको कानुनी व्यवस्थामा उल्लेख गरेको वाइडबडी विमान खरिद प्रकरणको उपसमितिले गठन गरेको कार्यदिशामा संलग्न व्यक्तिहरूमाथि स्वैच्छिक अभियोग लगाइएको देखिन्छ’ उनले भने, ‘यसका आधारमा आयुक्तज्यू, तपाईँ हुनुहुन्छ प्रमुख आयुक्त, यसका आधारमा नैतिकता छ रु अब त्यही पदमा रहनका लागि कानुनले दिन्छ कि दिँदैन, मैले यो दोस्रो प्रश्न गरेँ, यसको उत्तर पाऊँ ।”
आयल निगमको जग्गा प्रकरणमा लेखा समितिले प्रेमबहादुर राईकै नाम किटान गरेको उनले बताए । उनले भैरहवा विमानस्थको विषय पनि उठाएका हुन् ।












