
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ । महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको हो ।
पूर्वसभापति शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले महाधिवेशन रोक्न माग गर्दै अदालत जाने निर्णय भएको जानकारी दिए । अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पुनः सुनुवाइ हुने भएपछि महाधिवेशन प्रक्रिया अगाडि बढाउन नहुने इतर समूहको भनाइ छ ।
तर, पार्टीले भने महाधिवेशन प्रक्रिया अगाडि बढाइसकेको छ । केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार पार्टीको वडा अधिवेशन २४ भदौमा हुने भएको छ । कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ ।












