Logo
Logo

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त


0
Shares

काठमाडौं । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज नेकपा एमाले, नेकपा र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई ४ भदौ बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस आव्हान गरेका थिए । थापाले तीन दलका ६३ जना सांसदको समर्थनमा बुधबार दाबी पेस गरेका थिए ।

नयाँ सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर राप्रपाभित्र पनि विवाद भएको छ । राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपाले पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिसकेको छ । पार्टीको केन्द्रीय निर्देशनबिना प्रदेश संसदीय दलबाट गरिएको निर्णय पार्टीको आधिकारिक निर्णय नभएको भन्दै केन्द्रले असहमति जनाएको थियो ।

राप्रपाले प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै राप्रपा केन्द्रले बुधवार नै प्रदेश प्रमुख देवकोटालाई पत्र पठाएको थियो। प्रदेश प्रमुख कार्यालयले भने आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको नियुक्ति र शपथ कार्यक्रम तय गरेको जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्