काठमाडौं । नेपालको प्राकृतिक स्रोतसाधन र स्थानीय सीपलाई प्रवर्द्धन गर्दै वातावरणमैत्री जीवनशैलीलाई अघि बढाउने उद्देश्यका साथ ‘वनमाला नेपाल’ ले आफ्ना प्रिमियम हेम्प तथा प्राकृतिक उत्पादनहरू बजारमा ल्याएको छ।

“प्रकृतिलाई रोजौँ, नेपाली उत्पादनलाई साथ दिऔँ” भन्ने मूल नाराका साथ सञ्चालनमा आएको वनमाला नेपालले नेपाली माटोको सुगन्ध, स्थानीय कारीगरको कला र किसानको मेहनतलाई समेट्दै दिगो र सुरक्षित भविष्य निर्माणमा जोड दिएको छ।
स्वस्थ र वातावरणमैत्री जीवनशैलीलाई प्राथमिकता दिने यस संस्थाले हेम्पबाट बनेका कपडा, झोला, जुत्ता-चप्पल, टोपी र मोजा जस्ता पहिरनका सामग्री बजारमा ल्याएको छ। त्यसैगरी हेम्प चिया, साबुन, तेल, चाउचाउ, अचार र मह जस्ता खाद्य तथा उपभोग्य वस्तुका साथै प्राकृतिक छाला स्याहार सामग्री र विभिन्न हस्तनिर्मित नेपाली उत्पादनहरू पनि उपलब्ध गराउँदै आएको छ। संसारकै पुरानो र बलियो प्राकृतिक रेशा मानिने हेम्प छालामैत्री, टिकाउ, जैविक रूपमा विघटन हुने र कम पानीमा उत्पादन गर्न सकिने भएकाले यसलाई हरित भविष्यका लागि उत्कृष्ट विकल्पका रूपमा हेरिएको छ।
यसैक्रममा वनमाला नेपालले नेपालको अग्रणी तथा विश्वसनीय हेम्प उत्पादक संस्था ‘गणेश हेम्प’ सँग व्यावसायिक सहकार्य अघि बढाएको छ। आधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी नेपाली माटोमा उत्पादित हेम्पलाई उच्च गुणस्तरीय सामग्रीमा रूपान्तरण गर्दै गणेश हेम्प र वनमाला नेपालले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउने साझा लक्ष्य राखेका छन्। स्थानीय उद्योगलाई सशक्त बनाउँदै किसानको आयवृद्धि र आत्मनिर्भर नेपालको यात्रामा योगदान पुर्याउने यो प्रयासले वातावरण संरक्षणका साथै नेपालीपनको गौरवलाई विश्वभर फैलाउने विश्वास लिइएको छ।












