Logo
Logo

बालेन सरकारको कमजोरीमा देउवाको पुनरागमन


शरद् रिजाल

0
Shares


नेपाली कांग्रेसका ‘अपदस्थ’ सभापति शेरबहादुर देउवाको स्वदेश आगमन र उनको बालेन सरकारले आफूलाई केही गर्न नसक्ने हुँकारले यतिबेला नेपाली राजनीति निकै गर्माएको छ । विदेशमा साढे पाँच महिनाको स्वास्थ्योपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाले ‘राजा ज्ञानेन्द्रले त आफूलाई केही गर्न सकेनन् अरुले के नै गर्न सक्लान् र?’ भन्दै वर्तमान सरकारलाई चुनौती दिए । देउवाको उक्त अभिव्यक्तिलाई लिएर अहिले राजनीतिक वृत्त तरंगित बनेको छ भने यस विषयमा अनेकौं तवरले चित्रण गर्ने क्रम पनि सुरु भएको छ ।

गत फागुन २१ को निर्वाचन समेत ‘बहिष्कार’ गरेर विदेशिएका देउवा त्यस अघि भदौ २४ को जेनजी विद्रोहमा बूढानिलकण्ठस्थित आफ्नै निवासमा मरणाशन्न हुने गरी कुटाइ खाएका थिए । जेनजी विद्रोह यताका परिघटनाले देउवाको जीवनमा घटित अप्रत्याशीत ‘सुनामी’ले मुखैमा आएको प्रधानमन्त्री पदसहित सर्वस्व गुमाउने स्थिति निम्तियो । जेनजी विद्रोहकै उपज देउवासहित उनकी पत्नी आरजू राणामाथि निर्मम कुटपिट, आफ्नो निवास आगजनी, पार्टी सभापतिबाट गलहत्याइनु र छैटौं पटक प्रधानमन्त्री बन्ने उनको अभिलासामाथि तुषारापात भएको थियो ।

त्यसपछि गत निर्वाचनको सम्मुखमा विदेश गएका देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । सरकारले उनलाई पक्राउ गरेर स्वदेश झिकाउन रेड कर्नर नोटिस जारी गर्ने प्रयत्न गरे पनि इन्टरपोलको अस्वीकारपछि अन्ततः सम्मानपूर्ण तवरले देउवा आफैं स्वदेश फर्किएका छन् । यद्यपि, सर्वोच्च अदालतले भने उनलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

बालेन सरकारले देउवाको पक्राउको लागि गरेका अनेकौं प्रयत्न निरर्थक सावित भएपछि अहिले उनै देउवा तामझामसहित स्वदेश फर्किएर सरकारले आफूलाई केही गर्न नसक्ने हुँकार दिएका छन् । केही समयअघि आफैंलाई पक्राउ गर्न खोजेको सरकारलाई चुनौती दिँदै सम्मानपूूर्वक स्वदेश फर्किने देउवाको साहसका पछाडि आन्तरिक एवं बाह्य कारण रहेको निष्कर्ष निकाल्नु अनुचित हुँदैन ।

जेनजी विद्रोहपछि सबैभन्दा धेरै मारमा पर्दै सर्वस्व गुमाएर अघोषित निर्वासनमा गएका देउवा अहिले बलियो आत्मबलका साथ स्वदेश फर्किएको घटनाले कांग्रेसको आगामी आन्तरिक राजनीतिसहित सिंगो मुलुककै राजनीति समेत प्रभावित हुने आँकलन गरिएको छ । यसअघि देउवालाई अपदस्थ गरी कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्वमा आएको गगन थापा पक्षले पाएको आधिकारिकताबारे सर्वोच्च अदालतले पुनरावलोकन गर्न लागेको छ । यसकै पूर्वसन्ध्यामा देउवाको स्वदेश आगमन र उनमा देखिएको आत्मबलले नेपाली राजनीतिमा नयाँ परिदृश्यको सम्भावना निकै बढेको छ ।

देउवा विरुद्ध आक्रामक देखिएको बालेन सरकार अन्तिम समयमा उनलाई पक्राउ गर्नबाट किन पछि हट्न बाध्य भयो ? विदेशबाटै पक्राउ गरेर स्वदेश ल्याउन खोजिएका देउवालाई त्रिभुवन विमानस्थलबाटै सुरक्षा दिएर निवाससम्म स–सम्मान पुर्याउनुपर्ने बाध्यात्मक अवस्था के कारणले निम्तियो ? सरकार र देउवाबीच कुनै अघोषित सौदाबाजी त भएन ? सामाजिक सञ्जालमा यी अनुत्तरित प्रश्न अहिले बालेन सरकार सामु तेर्सिएका छन् ।

एकातिर बालेन आफैंले सबैतिरबाट एक्लिएको निराशाजन्य अभिव्यक्ति दिनु र त्यसकै सन्निकट देउवा विजयी भावमा स्वदेश फर्किनु संयोग मात्रै कदापि होइन । बालेन एक्लिने र देउवा हौसिने वातावरण अदृश्य एवं अमुक शक्तिबाट निर्माण भएकोमा शंकाको सुविधा छ । अझै, देउवाले उल्टै आफूलाई कसैले केही गर्न नसक्ने चेतावनी दिनुले उनी थप शक्तिशाली बनेको र बालेन भने यस अघि उनी आफैंले स्वीकारे जसरी एक्लिएर झनै कमजोर बन्दै गएको यस घटनाले सन्देश दिन्छ ।

नेपालको राजनीति जेनजी विद्रोहपछि निकै तरल अवस्थाबाट गुज्रिरहेको छ । गत फागुन २१को निर्वाचनले रास्वपालाई दुई तिहाइ बहुमत दिलाएर बालेन प्रधानमन्त्री बनेयता मुलुकले स्थायित्व प्राप्त गर्दै विकास र समृद्धिको लय समात्नुपर्नेमा सरकार भने गैरजिम्मेवार एवं मनोमानीपूर्ण रुपमा अघि बढ्दा सबै क्षेत्र सशंकित छ । बालेन सरकारमाथिको जनताको अपेक्षा पाँच महिनामै निराशामा परिणत हुन थालेको छ । सार्वजनिक सेवा प्रवाहदेखि जनताको दैनिक उपभोग्य अत्यावश्यक सामग्री समेत सहजै प्राप्त गर्न नसक्ने अवस्था सिर्जना हुँदा असन्तुष्टि चुलिँदै गएको छ ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगतमा पनि एकपछि अर्कोगरी एक्लिँदै जाँदा बालेन सरकार अहिले असहज अवस्थामा पुगेको देखिन्छ । अहिले बालेनको सामाजिक सञ्जालबाट आर्जन गरिएको लोकप्रियता तीव्र गतिमा ओरालो यात्रातर्फ उन्मुख छ ।

यही परिवेशमा भएको देउवाको स्वदेश आगमनले गत वर्षको जेनजी आन्दोलनबाट उदय भएको बालेन सरकारमाथि प्रश्न उठेको छ । त्यस जेनजी विद्रोहमा उठाइएका भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने एजेण्डामा सरकार अहिलेसम्म प्रवेश गर्न नसक्दा अनेकौं प्रकरणमा मुछिएका पुराना सत्तासीन दल र नेताहरुले टाउको उठाउन खोजेका छन् । बालेन सरकार जेनजी विद्रोहको एजेण्डा कार्यान्वयन गर्न असमर्थ भएपछि नै देउवा लगायत अन्य दलका शीर्ष नेताको मनोबल बढ्दै जान थालेको छ ।

मुलुकको सबै क्षेत्रमा विगतका भन्दा झनै विकराल समस्या उत्पन्न भएका छन् । भूराजनीतिक जटिलता बालेन सरकारकै क्रियाकलापले निकै प्रखर रुपमा सतहमा आएको छ । जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने सामान्य समस्या समाधान गर्न समेत बालेन सरकार पूर्णतया असक्षम सावित भइसकेको छ ।

सायद, यिनै पुुरानै दलीय चरित्रभन्दा माथि उठ्न नसकेको देखेरै देउवाले आफूलाई वर्तमान सरकारले केही गर्न नसक्ने भन्दै चुनौती दिएका हुनसक्छन् । सरकारको विदेशी नियोगका प्रतिनिधिको हुर्मत लिने कार्य र भूराजनीतिक शक्ति सन्तुलन खल्बल्याउने गतिविधिलाई देउवाले आफ्नो पक्षमा उपयोग गर्ने प्रयत्न पनि नगरेका होलान् भन्न सकिँदैन ।

यसबाहेक मुख्यतः बालेन सरकारको आफ्नै अलोकप्रिय क्रियाकलापले नै देउवालाई त्राण दिएको हो । सरकारले अरुको सम्पत्तिको छानबिन गर्ने तर प्रधानमन्त्री र आफ्नै मन्त्रीहरुको अकुत आर्जनको स्रोत देखाउन पूर्णतया असमर्थ भएर नैतिक बल र विश्वसनीयता गुमाएको छ । मुलुकमा विगतदेखि व्याप्त भ्रष्टाचार, बेथिति र अराजकता न्यूनीकरणतर्फ सरकारले आफ्नो कदम अगाडि बढाउन सकेको छैन ।

मुलुकको विद्यमान समस्या ज्युँकात्युँ रहेपछि जनताको अपेक्षा विस्तारै निराशामा परिणत भएर बालेन सरकारप्रति मोहभंग हुँदै जाँदा देउवामा भने आत्मबल बढेको प्रष्ट हुन्छ । अहिले सरकारप्रति जनस्तरमै दिन दुई गुणा, रात चौगुणाको दरले असन्तुष्टि बढ्दै गएपछि नै देउवाले आफैंलाई पक्राउ गर्न तम्सिएको सरकार विरुद्ध आगो ओकल्ने तहकै हिम्मत जुटाउन सफल भएका हुन् ।

अर्कोतिर, साढे पाँच महिना उपचारको बहानामा सिंगापुर र हङकङमा बिताएका देउवाले त्यहाँ उपचारका लागि मात्रै यत्रो समय व्यतित पक्कै गरेनन् । नेपालको राजनीतिमा बाह्य भूमिकाको प्रभाव राम्रोसँग बुझेका उनले त्यसको अभ्यास पनि मिहिन ढंगले निश्चय नै गरेकै होलान् । विगतमा उनकी पत्नी आरजु राणाको भारतीयसँगको ‘राखी’ राजनीति जस्तै देउवाले पनि आफूमाथिको संकट टार्न बाह्य अमुक शक्तिकेन्द्रको शरणमा यसबीच अवश्य पुगेका छन् ।

त्यसैमा, सर्वोच्चले कांग्रेस विवाद निरुपणको निर्णय पुनर्विचार गर्ने भएपछि देउवाले त्यसबाटै राजनीतिक पुनर्जीवन पाउने अपेक्षा गरेका छन् । उनलाई स्वदेश या विदेशमै कुनै अमुक शक्तिबाटै आश्वस्त तुल्याइएपछि मात्रै उनको स्वदेश आगमन सम्भव भएको हो भन्दा अत्युक्ति हुँदैन ।

अहिले झनै रास्वपाको आन्तरिक किचलोले पनि बालेन सरकारमाथि अर्को संकट पैदा गरेको छ । पार्टीकै सांसदहरुले सरकारमाथि अनेकौं प्रश्न उठाउन थालेपछि सरकारको भविष्य नै अन्योलग्रस्त बन्दै गएको छ । पछिल्लो समय पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री बालेनको कार्यशैलीलाई लिएर असन्तुष्ट बनेका छन् । जेनजी विद्रोह र गत निर्वाचनबाट रक्षात्मक बनेका पुराना दलहरु भने अहिले बालेन सरकार विरुद्ध आक्रामक बन्दै तंग्रिन थालेका छन् ।

यिनै आफ्नै असक्षमताले आन्तरिक एवं बाह्य रुपमा संकटमा परेको बालेन सरकारको कमजोरीको फाइदा उठाउँदै देउवा स्वदेश फर्किएको घटनाक्रमले प्रष्ट देखाएको छ । त्यसैकारण देउवालाई विदेशबाटै गिरफ्तार गरेर स्वदेश ल्याउन भरमग्दुर प्रयत्न गरेको बालेन सरकार अहिले स्वदेश फर्किएपछि उल्टै सम्मानपूर्वक ‘भिआइपी’ सुरक्षा दिएर देउवाकै गन्तव्यसम्म पु¥याउन बाध्य भएको हो ।

प्रतिक्रिया दिनुहोस्