काठमाडौं । टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने तत्कालीन सरकारको निर्णय विरुद्ध परेको रिटमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको छ । साढे दुई वर्षदेखि सुनुवाइ हुन नसकेको रेशमको माफी विरुद्धको रिट अग्राधिकारमा राखेर सुनुवाइका लागि पेसी तोकिएको हो ।
रेशमले माफी पाएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट हालेकी थिइन् । उक्त मुद्दामा २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेशसहित अग्राधिकार दिएको थियो ।
सरकारका विभिन्न निकायले २०८० साउन ८ भित्रै सर्वोच्चमा लिखित जवाफ पेस गरेका थिए, तर लिखित जवाफ पेस भएपछि अहिलेसम्म सुनुवाइ भएको थिएन ।












