काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले संघीयताप्रति आफू प्रतिबद्ध रहेको बताएका छन् । शुक्रवार ‘संघीयता संविधान संशोधन र कार्यविस्तृतीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लोकतन्त्र र सङ्घीयतालाई पूर्ण पालन गरिने बताएका हुन् ।

फेडरलिजम एन्ड लोकलैजेसन सेन्टरले आयोजना गरेको अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै बुर्लाकोटीले संविधान संशोधनको विषय समयअनुसार हुन सक्ने पनि बताए । उनले भने, ‘यो सँगसँगै म राख्न चाहन्छु जसरी हामीले संविधानको संशोधनको कुराहरू गर्छौँ, लोकतान्त्रिक अभ्यासलाई पनि अझ तिखारेर लानुपर्नेछ। हामीले विगतदेखि अहिलेसम्म गरेको लोकतान्त्रिक अभ्यासमा कहाँनिर त्रुटि भयो, कहाँनिर हामीले नोक्सानीहरू पुर्यायौँ, लोकतन्त्र भन्नेबित्तिकै लोकको कुरा हुन्छ, लोककल्याणकारी अभ्यासमा कहाँनिर चुकियौँ भन्ने कुराहरू महत्त्वपूर्ण हुन्छन्। त्यसलाई पनि समयक्रमसँगै हामीले सबलीकरण गर्दै जानुपर्छ भन्नेमा म अ त्यसमा त व्यक्तिगत रूपमा र पार्टीको रूपमा हामी प्रतिबद्ध छौँ ।’
विगतमा आफूहरूले अधिकार विकेन्द्रीकरणमा काम गरेको स्मरण गराउँदै उनले भने, ‘धेरै पहिला हामी युवा अभियानहरू चलाउँदै गर्दाखेरि विभिन्न दलहरूसँग बस्ने, कुराकानी गर्ने, मधेशमा पनि गएर हामीले कति कुराहरू संवाद, छलफलहरू गर्यौँ र अहिले हामीले नेताहरूलाई यो कुरा ‘ नेता भनेको कुनै एउटा दल वा विशेषमा कुरा गर्न खोजेको होइन, सबै नेताहरूलाई, देशको नेतृत्व गर्ने व्यक्तित्वहरूलाई यो चिजमा अझै धेरै बुझाउनुपर्ने आवश्यक छ, बुझाउँदै जानुपर्छ। यो विगतमै मात्रै हो, फेरि वर्तमान होइन भन्न खोजेको होइन । सबैलाई हो ।’
संविधान निर्माण र संघीय लोकतान्त्रिक व्यवस्थाका लागि दलहरूले गरेको योगदानको सदैव कदर गर्नुपर्ने बताउँदै उनले २०६२/६३ सालको आन्दोलन स्मरण गरे । ‘पछिल्लो आन्दोलन ०६२/६३ को आन्दोलनमा त मेरो खुट्टा मर्किएको थियो, जुत्ता हरायो, छुटियो भागदौड गर्दाखेरि,’ बुर्लाकोटीले भने, ‘त्यस्तै गरी पछिल्लो समयमा जे९जे आन्दोलन भयो, त्यो बीचमा अरू आन्दोलन भए, मधेश आन्दोलन भयो, थारूहट आन्दोलनहरूबाट हामीले प्राप्त गरेको उपलब्धिहरू छन् । अझै केही छुट्या छन् भने त्यसलाई समेट्नुपर्छ भन्ने संविधान संशोधनको मर्म हो ।’
यो बीचमा पनि नयाँ सोचहरू विकास भएका हुन्छन्, त्यो सबै चीजलाई, समयक्रमसँगै देखेका कुराहरू संविधानमा समेटेर लिएर जाने भन्ने बहस हुन सक्ने उनले बताए । सहमति जुटाएर यसमा अगाडि बढ्नुपर्ने भनेर उनले यो विषय कुनै दल विशेष या कुनै सरकार विशेषको कुरा नभएको बताए ।













