
काठमाडौं । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय गरेकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज पत्रकार सम्मेलन गरी सरकारका कामकारवाहीलाई सूचना प्रविधिमैत्री बनाउन सफ्टवेयरसम्बन्धी छुट्टै केन्द्र खोल्ने निर्णय गरिएको जानकारी दिएको हो ।
प्रधानमन्त्रीको शासकीय मामिला हेर्ने सचिवको संयोजकत्वमा ६ सदस्यीय समिति समेत गठन गरिएको प्रधानमन्त्री कार्यालय प्रवक्ता हेमराज अर्यालले जानकारी दिए । उनका अनुसार समितिले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको सुपरिवेक्षण तथा नीतिगत मार्गनिर्देश गर्नेछ ।
‘केन्द्रमा एक जना कार्यकारी निर्देशकको नेतृत्वमा ३० जना कर्मचारी रहनेछन्, यद्यपि आवश्यकताअनुसार कर्मचारी थप्न सकिने व्यवस्था गरिएको छ’, उनले भने । सफ्टवेयर केन्द्र स्थापना भएपछि आवश्यकता अनुसार कर्मचारी थपघट गरिने उनको भनाई छ ।













