
काठमाडौं । बञ्चरेडाँडा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आयोजित कार्यक्रममा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुख (मेयर) हरूबीच चर्काचर्की भएको छ ।
सिंहदरबारमा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले आयोजना गरेको काठमाडौं उपत्यका सहित प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिको छलफलमा रास्वपा सांसद तामाङ पनि सहभागी थिइन् । सो क्रममा जनप्रतिनिधिसँग सांसद तामाङको भनाभन भएको हो ।
चर्काचर्कीपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितले उनलाई सम्झाउन खोजेका थिए । यद्यपि सांसद तामाङ भने थप आक्रोशित बनिन् ।
‘त्यतिकै बेस्सरी कराएर हुन्छ ? मेयरसाबलाई कराएर हुन्छ ?,’ मेयर महर्जनले सांसद तामाङलाई प्रश्न गरेका थिए ।
सो प्रश्नको जवाफमा प्रतित्यूर दिँदै सांसद तामाङले भनिन्, ‘आउनु प¥यो नि ।’
पुनः मेयर महर्जनले जवाफ फर्काउँदै भने, ‘आउँदै हुनुहुन्छ त ।’ लगत्ततै ‘बञ्चरेडाँडका मान्छे होइन ?,’ तामाङले प्रश्न गरिन् ।
अहिलेसम्म स्थानीय सरकार आँखा चिम्लिएको आरोप उनले लगाएकी थिइन् । भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनी दिँदै सांसद तामाङले बैठक नै छाडेर हिंडिन् ।













