
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत लिने मिति संशोधन भएको छ । यसअघि ७ भदौ आइतबार विश्वासको मत लिने गरी तय गरिएको प्रदेशसभा बैठक अब ८ भदौ सोमबारलाई संशोधन गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
शुक्रबार जारी गरेको संशोधित सूचनाअनुसार प्रदेशसभाको आठौं अधिवेशनको १८औँ बैठक ८ भदौ सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयका प्रवक्ता कानुन उपसचिव प्रकाश चापागाईंले जानकारी दिए ।
संशोधित बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।
मुख्यमन्त्री थापामगर बिहीबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नयाँ सत्ता समीकरणअन्तर्गत एमाले, नेकपा र राप्रपाको समर्थनमा थापामगर मुख्यमन्त्री बनेका हुन् ।














