Logo
Logo

रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि हो : झलनाथ खनाल


0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको बताएका छन् । पार्टीको कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको दाबी गरेका हुन् ।

The current image has no alternative text. The file name is: jhalanath-khanal.jpg

उनका अनुसार २०६२/६३ को जनआन्दोलनपछि नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि बनेको थियो भने अहिले त्यो भूमिका रास्वपाले लिएको छ । उनले कम्युनिष्ट पार्टीको मुख्य वर्गशत्रु अहिले रास्वपा बनेको स्पष्ट पारे । खनालले वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढिरहेको आरोप लगाए ।

सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले आम जनता तथा तल्लो वर्गको हित नगरेको उनको आरोप छ । आर्थिक नीतिहरू माथिल्लो वर्गको हितमा केन्द्रित रहेको उनले बताए  । पछिल्लो निर्वाचनमा कम्युनिष्ट शक्तिले व्यहोरेको पराजय सामान्य हार नभएको उल्लेख गर्दै उनले नेतृत्वका विगतका कमजोरीका कारण यस्तो लज्जास्पद हार बेहोर्नुपरेको स्वीकार गरे । बाह्य शक्तिको प्रभाव भए पनि त्यसलाई गौण कारण मात्र मान्नुपर्ने उनको धारणा छ ।

विगतमा कम्युनिष्ट पार्टीसँग जोडिएका ठूलो सङ्ख्याका कार्यकर्ता र समर्थकमा नेतृत्वप्रति व्यापक असन्तुष्टि बढेको उनले बताए । विदेशिएका श्रमिक र असन्तुष्ट जनतालाई विभिन्न शक्तिहरूले आफ्नो पक्षमा परिचालन गरेको उनको दाबी रहेको छ ।  वर्तमान सरकारले जनताको हितमा कुनै काम गर्न नसक्ने दाबी गर्दै सुकुम्वासी, विद्यार्थी, मजदुर र पत्रकार समस्यामा परेको उल्लेख गरे ।

उनले भने, “हिजो राजतन्त्र रहुन्जेल हामी मुख्य शत्रु नै भन्थ्यौं । अहिले संसदीय व्यवस्था भएकाले मुख्य शत्रु भन्नुभन्दा मुख्य प्रतिद्वन्द्वी भन्छौँ। पहिले नेपाली कांग्रेस थियो । विशेष गरी ६२/६३ को परिवर्तनपछि दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि कांग्रेस थियो । अहिले त्योभन्दा बढी रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि बनेर आएको छ र सत्ता उसकै हातमा छ। उसले व्यापक दमन-मर्दन सुरु गरेको छ । उसले ल्याएको नीति९कार्यक्रममा आम जनता र तल्लो वर्गको हितमा एउटा पनि छैन । सबै माथिल्लो वर्गको हितमा छ। बजेट पनि जम्मै माथिल्लो वर्गको हितमा ल्याएको छ । कर भार हेर्नुहोस्, जनतामाथि थोपरिएको भारी कर माथिल्लो वर्गको हितमै छ। त्यसैले अहिले वर्गीय रूपमा यो मुख्य प्रतिद्वन्द्वी शक्तिका रूपमा हाम्रासामु आएको छ ।” 

खनालले सबै कम्युनिष्ट शक्ति एकताबद्ध भएर नयाँ ढङ्गले समाजवादी क्रान्ति तथा रूपान्तरणको आन्दोलन अघि बढाउनुपर्नेमा जोड दिए । विगतका कमी-कमजोरी सच्याएर अगाडि बढे कम्युनिष्ट पार्टीले सफलता हासिल गर्ने उनको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्